जसपा महन्थ पक्षको निर्वाचन आयोगमा जवाफ- प्रथम अध्यक्षको दाबी
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले निर्वाचन आयोगलाई जवाफ पठाउँदै ठाकुर पार्टीको प्रथम अध्यक्ष भएको दाबी गरेको छ ।
काठमाडौं, असार १४ : जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले निर्वाचन आयोगलाई जवाफ पठाउँदै ठाकुर पार्टीको प्रथम अध्यक्ष भएको दाबी गरेको छ ।
अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता दाबी गर्दै निवेदन दिएपछि अर्का अध्यक्ष ठाकुरले आयोगमा जवाफ पठाएका हुन्। आयोगले जवाफ प्रस्तुत गर्न १५ दिनको समय दिएको थियो ।
ठाकुर–महतो पक्षले आयोगमा बुझाएको जवाफमा आफूहरूसँग कार्यकारिणी समितिको बहुमत रहेको दाबी गरेको छ। ३८ जना कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहित जवाफ बुझाइएको ठाकुर–महतो पक्षको दाबी छ ।
यसअघि यादव पक्षले पनि आफूहरूसँग बहुमत रहेको उल्लेख गर्दै आयोगमा दाबी पेश गरेको थियो ।
५१ सदस्यीय कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले यादव पक्षका २० जनालाई हटाएर आफूपक्षका नेतालाई कार्यकारिणी समिति सदस्य बनाएका थिए। ठाकुर पक्षले नवनियुक्त केन्द्रीय कार्यकारिणी सदस्यहरूको हस्ताक्षर बुझाएको छ ।











