कोशी र कनकाई नदीमा बाढी आउन सक्ने, सतर्क रहन अनुरोध
काठमाडौं, असार १४ : जल तथा मौसम विज्ञान विभागले आज कोशी, कनकाई र यसका सहायक नदी तथा खोलामा पानीको बाढी आउनसक्ने जनाएको छ। सोमबार विभागको...
काठमाडौं, असार १४ : जल तथा मौसम विज्ञान विभागले आज कोशी, कनकाई र यसका सहायक नदी तथा खोलामा पानीको बाढी आउनसक्ने जनाएको छ।
सोमबार विभागको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यसका तटीय क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। आज प्रदेश १ का इलाम‚ झापा‚ सुनसरी‚ मोरङ‚ उदयपुर र धनकुटामा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। पाँचथर‚ ओखलढुङ्गा‚ संखुवासभा‚ भोजपुर र ताप्लेजुङमा बाढी जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार प्रदेश २ का महोत्तरी‚ धनुषा‚ सिरहा र सप्तरीमा पनि बाढीको जोखिम रहेको छ। बागमती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ दोलखा‚ रामेछाप‚ नुवाकोट‚ धादिङ र काठमाडौं बाढीको जोखिम रहेको छ।
गण्डकी प्रदेशका गोरखा‚ लमजुङ‚ तनहुँ‚ स्याङ्जा‚ पर्वत‚ कास्की र बाग्लुङमा पनि बाढीको जोखिम मध्यम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।











