ललितपुर महानगरसभाको बैठक स्थगित, भोलि साढे १२ बजे फेरि बस्ने

ललितपुर, असार १२ : बिहीबार स्थगित भएपछि आज (शनिबार) का लागि डाकिएका ललितपुर महानगरसभाको बैठक स्थगित भएको छ।
शंखमुलस्थित यल्लो दरबार पार्टी प्यालेसमा बस्ने भनिएको बैठकमा कांग्रेस निकट वडाध्यक्ष तथा वडा सदस्यहरूको मात्रै उपस्थिति हुँदा कोरम पुग्न नसकेको जनाइएको छ।
आजको बैठक भोलि (आइतबार) आपराह्न १२ः३० बजेका लागि सारिएको जनाइएको छ।
स्थानीय तहहरूले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रयोजनका लागि ललितपुर महानगरपालिकाले बिहीबार बोलाएको बैठक ६६ जना सदस्यले बहिष्कार गरेपछि बजेट सार्वजनिक हुन सकेन।
ललितपुर महानगरसभाका ९२ सदस्यीय रहेको छ। बैठक बहिष्कार गर्ने ६६ जना सदस्य माओवादी केन्द्र र एमालेबाट निर्वाचित वडाध्यक्ष छन्। मेयर र उपमेयर भने नेपाली कांग्रेसबाट निर्वाचित हुन्।
बैठक बहिष्कार गर्नेहरूले नीति तथा कार्यक्रम बनाउने बेलामा आफूहरूसँग छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको भए पनि भित्री कुरा भने राजनीतिक किचलो भएको जनाइएको छ।











