सोनियाले प्राप्त गरिन् ओलम्पिक वाइल्ड कार्ड
काठमाडौं, असार १२ : नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन्। यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी...
काठमाडौं, असार १२ : नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन्।
यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ। पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो। पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भएता पनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो।
सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जानकारी दिए। उनले दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाका लागि पहल गरिएकामा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताए।
नेपाल पुलिसमा आबद्ध सोनिया हालै नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकूदकी कास्य पदक विजेता खेलाडी हुन्। सोनियाले २०१९ मा बङ्गलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिइन्।
सन् २०१९ मा मोरक्कोमा आयोजना भएको विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अङ्क बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी दिए।
सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी भएकी छन् । यसअघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा ऋषिराम प्रधान र गङ्गाबहादुर डङ्गोलले सहभागिता जनाएका थिए। यस्तै चीनको बेइजिङ्ग ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपूल्हामु खत्रीले सहभागिता जनाएका थिए। (रासस)











