Kathmandu Press

सिंहदरबार वैद्यखानालाई सतर्कता केन्द्रले सोध्यो स्पष्टीकरण

काठमाडौं, असार ११ : सिंहदरबार वैद्यखानालाई राष्ट्रिय सतर्कता केन्द्रले स्पष्टीकरण सोधेको छ । गैरकानुनी रूपमा निजी व्यवसायीहरूको औषधि उत्पादन गरी प्याकेजिङ गर्दागर्दैको अवस्थामा राष्ट्रिय सतर्कता...
सिंहदरबार वैद्यखानालाई सतर्कता केन्द्रले सोध्यो स्पष्टीकरण

काठमाडौं, असार ११ : सिंहदरबार वैद्यखानालाई राष्ट्रिय सतर्कता केन्द्रले स्पष्टीकरण सोधेको छ । 

गैरकानुनी रूपमा निजी व्यवसायीहरूको औषधि उत्पादन गरी प्याकेजिङ गर्दागर्दैको अवस्थामा राष्ट्रिय सतर्कता केन्द्रको छड्केमा परेको सिंहदरबार वैद्यखानालाई शुक्रबार ६ बुँदे स्पष्टीकरण सोधिएको हो। 

वैद्यखानाले तालुक निकाय सिंहदरबार औषधि विकास समिति, औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय कसैको पनि स्वीकृति नलिई र आफ्नै कार्यालयमा समेत कुनै निर्णय नगरी निजी व्यवसायी कल्पसनद अध्ययन प्रतिष्ठानका लागि औषधि प्याकेजिङ गर्दागर्दैको अवस्थामा अस्ति बुधबार केन्द्रको छड्केमा परेको थियो ।

सरकारी स्रोत र साधन प्रयोग गरी वैद्यखानाले कोभिड१९ को भनिएको बेसारजस्तो देखिने ‘ट्यूमेरिक गोल्ड’ नामक औषधि बनाई पठाउन लागेको अवस्थामा भेटेको केन्द्रले बताएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले वैद्यखानालाई सोधेको स्पटीकरण 

१) कल्पसनद अध्ययन प्रतिष्ठान र तहाँ समितिबीच विश्वभर महामारीको रुपमा जारी कोभिड १९ सहित भाइरल इन्फेक्सन रोगको उपचारको लागि प्रस्तावित भनिएको ‘ट्यूमेरिक गोल्ड’ नामक पदार्थको पाउडर र तथा प्याकिङ गरेको स्थलगत अनुगमनको क्रममा देखिएको हुँदा के कति परिमाणमा र मूल्यमा बनाउने भनी दुवै पक्षबीच भएको सम्झौता, तालुक निकाय तथा तहाँ सञ्चालक समितिको निर्णयलगायत आवश्यक अन्य कागजातहरुको विवरणसहितको प्रमाणित प्रतिलिपि,

२) ट्यूमेरिक गोल्ड नामक पदार्थ कति परिमाणमा तयार गरिएको छ ? उक्त कार्य गर्दा तहाँ समितिमा कार्यरत कर्मचारीहरुलाई प्रयोग गरिएको भए कति संख्या तथा कति दिनको र कुन शर्तमा काममा लगाइएको हो ? 

३) हालसम्म उक्त ट्यूमेरिक गोल्ड कति परिमाणमा तयार गरिसिकएको हो ?

४) कल्पसनद अध्ययन प्रतिष्ठानका आधिकारिक प्रतिनिधिलाई तीन दिनभित्र केन्द्र समक्ष उपस्थित गराइदिनु हुन

५) तहाँ समितिको गठन आदेश तथा नियमावली एक, एक प्रति उपलब्ध गराइदिनु हुन

६) साथै तहाँ निर्माण तथा प्याकेजिङ गरिएको ट्यूमेरिक गोल्ड हाल कहीं कतै नपठाउनु हुन समेत जानकारी गराइन्छ ।

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्