Kathmandu Press

कांग्रेसको प्रश्न : सामाजिक भड्कावलाई बल पुर्‍याउने मन्त्री किन अझै पदमा?

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मी रूपा सुनारलाई जातीय कारणबाट घरभाडामा बस्न नदिने घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैँ अग्रसर भएको घटनामा प्रधानमन्त्री केपी ओलीको धारणा माग गरेका छन् ।
कांग्रेसको प्रश्न : सामाजिक भड्कावलाई बल पुर्‍याउने मन्त्री किन अझै पदमा?

काठमाडौं, असार ११ : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मी रूपा सुनारलाई जातीय कारणबाट घरभाडामा बस्न नदिने घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैँ अग्रसर भएको घटनामा प्रधानमन्त्री केपी ओलीको धारणा माग गरेका छन् ।

प्रवक्ता शर्माले शुक्रबार विज्ञप्तिमार्फत यस प्रकरणमा प्रधानमन्त्री ओलीको मौनतामाथि प्रश्न उठाएका हुन् । ‘गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने प्रधानमन्त्रीज्यू ?’ उनले प्रश्न गरेका छन् ।

समय र संसार बदलिएको तर हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा नबदलिएको उल्लेख गर्दै शर्माले दशक लामो हिंसाको अन्त्य गर्न समर्थ भएको तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य नभएको बताएका छन् ।

‘नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौँ, तर संविधानअनुरूप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन । यस्तो परिस्थितिमा देश बन्ने-बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नवीन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हालैको एक घटनामा तपाईं (प्रधानमन्त्री)को मन्त्रिमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ ।’

‘घटनाको अनुसन्धान, कारवाही र समाधानको एउटा निश्चित विधि हुन्छ । राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू ?,’ शर्माले भनेका छन्, ‘निश्चित घटना उजागर भएपछि त्यसको पक्ष-विपक्षमा नागरिक तहबाट धारणा व्यक्त हुँदै गर्दा बहसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न, न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवं द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले विशेष सतर्कता र गम्भीरता राख्नुपर्छ । त्यो जिम्मेवार भूमिकाबाट के राज्यलाई विमुख गराउन लागिएको हो प्रधानमन्त्रीज्यू ?’

‘द्वन्द्व निरुपण होइन भड्कावलाई बल पुर्‍याउने मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छाचारिता कि राज्यकै प्रतिनिधित्व ? मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम ?’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यको भूमिका जिम्मेवारपूर्ण बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरू र आज संविधानमा लेखिएका न्यायका अक्षरहरूको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ?’

प्रश्न रूपा सुनार र सरस्वती प्रधान बीचको संवाद र विवादको मात्रै नभएको र यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने मुख्य पक्ष भएको शर्माको विज्ञप्तिमा उल्लेख छ ।

‘विभेदका कारण अनेक अपमान, अवहेलना र हत्यासमेत जारी छ समाजमा । शिक्षण अस्पतालबाट अजित मिजारको लाश अझै उठेको छैन, नवराज विकहरूको घटना आलै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजी गरिरहेको छ । तर, पछिल्लो घटनामा राज्यकै भूमिकाउपर गम्भीर प्रश्न उब्जिएको छ ।’
 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्