राष्ट्रपति आफ्नो अधिकारभन्दा बाहिर गएको वरिष्ठ अधिवक्ता अर्यालको दाबी
काठमाडौं, असार ११ : वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई साथ दिएको आरोप...
काठमाडौं, असार ११ : वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई साथ दिएको आरोप लगाएका छन्।
संसद विघटनविरुद्धको मुद्दामा आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइका क्रममा बहस गर्दै उनले ओलीलाई प्रधानमन्त्रीका लागि विश्वासको मत लिन संसद् पठाउनुको सट्टा को टिकट नै नटाँसेको निवेदनसमेत स्वीकार गरेर राष्ट्रपति भण्डारीले आफ्नो अधिकार क्षेत्र आफैंले मिचेको बताएका हुन्।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई राष्ट्रपति भण्डारीले नरोकेकाले सर्वोच्च अदालतले नै हस्तक्षेप गर्नुपरेको तर्क उनले गरे। आफूले गैरकानुनी काम गरेर पनि प्रधानमन्त्री ओलीले त्यसलाई ठीक भनेर जिकिर गरिरहेको पनि उनले बताए।
कसैसँग छलफलै नगरी प्रधानमन्त्री ओलीले नागरिकता, सवैधानिक परिषद्जस्ता अध्यादेश सिफारिस गरेको र राष्ट्रपति भण्डारीले पनि प्रधानमन्त्रीको उक्त असंवैधानिक कदमलाई रोक्नुको सट्टा साथ दिएको जिकिर वरिष्ठ अधिवक्ता अर्यालले गरे।
विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्थाको पनि प्रधानमन्त्री ओलीले उल्लंघन गरेको तर्क उनको थियो।
वरिष्ठ अधिवक्ता अर्यालले सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गरेको र संसदीय सुनुवाइ नगरीकनै ती पदाधिकारीलाई शपथ खुवाउनुलाई पनि बदनियतको हद भएको बताए।











