Kathmandu Press

युरोकपका फ्लप स्टार

युराेकपमा केही स्टार खेलाडीले त अपेक्षाअनुसार नै प्रदर्शन गरे तर केही स्टार खेलाडीले अपेक्षाअनुसारको खेल मैदानमा देखाउन सकेनन् र गोल गर्न संघर्ष गरिरहेका छन्।
युरोकपका फ्लप स्टार

काठमाडौं, असार ११ : पहिलोपटक युरोपका विभिन्न ११ सहरले संयुक्त रूपमा आयोजना गरिररहेको युरोपकको १६औं संस्करण अहिले मध्यान्तरमा आइपुगेको छ। बुधबार राति समूह ‘ई’ र ‘एफ’ का खेल सकिएसँगै युरोकपको समूह चरण सकिएको छ।

अब शनिबारबाट नकआउट चरणको खेल सुरु हुनेछ। युरोकपमा ५३ खेलमध्ये ३६ खेल सकिसकेका छन्। यी खेलमा ९४ गोल भइसकेका छन्, औसतमा प्रत्येक खेलमा २ भन्दा बढी गोल भएका छन्।

यो युरोकपमा नाम चलेकै स्टार चलेका छन्। जस्तै, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका करिम बेन्जिमा, बेल्जियमका रोमेलु लुकाकु। केही स्टार खेलाडीले त अपेक्षाअनुसार नै प्रदर्शन गरे तर केही स्टार खेलाडीले अपेक्षाअनुसारको खेल मैदानमा देखाउन सकेनन् र गोल गर्न संघर्ष गरिरहेका छन्। 

जारी युरोकपमा गोल गर्न संघर्ष गरिरहेका स्टारमा इंग्ल्यान्डमा ह्यारी केनदेखि फ्रान्सका किलियन एम्बाप्पेसम्म छन्। घरेलु लिगका सर्वाधिक गोलकर्ता यी दुवै खेलाडी युरोकपको समूह चरणमा फ्लप नै भए । यी हुन् युरोकपमा फ्लप स्टारः

ह्यारी केन (इंग्ल्यान्ड)

इंग्लिस स्ट्राइकर ह्यारी केनले यो सिजन प्रिमियर लिगमा गज्जबको फुटबल खेले । उनको टिम टोटनह्यामले खराब प्रदर्शन गरे पनि केनको गोलको गतिमा कुनै कमी आएन । टोनह्याम च्याम्पियन्स लिग र युरोपा लिगमा छनोट हुनै सकेन, तर केन भने प्रिमियर लिगको सर्वाधिक गोलकर्ता र असिस्टकर्ता बने।

केनको यो लय फुटबलप्रेमीले युरोकपमा पनि हेर्न चाहेका थिए । तर, केनले दर्शकको त्यस्तो अपेक्षा पूरा गर्न सकेनन्। घरेलु लिगका स्टार यी खेलाडी युरोकपमा गोलका लागि संर्घषरत देखिए।

केनले गोल नगरे पनि समूहमा २ जित र १ बराबरी नतिजासहित उनको टिम इंग्ल्यान्ड समूह ‘डी’को शीर्ष स्थानमा रहँदै नकआउट चरण भने पुगेको छ। समूहका तीन खेलमा इंल्यान्डले जम्मा २ गोल गर्यो, यी दुवैल गोल रहिम स्टर्लिङको नाममा रह्यो। इंग्ल्यान्डको दुई जितमा केनको भूमिका शून्यजस्तै रह्यो।

इंग्ल्यान्ड अन्तिम १६ मा बलियो प्रतिद्वन्द्वी पाएको छ, जर्मनीका रूपमा । जर्मनीको चुनौती पन्छाउँदै अगाडि बढ्ने हो भने केनले गोलको खडेरी तोड्नु आवश्यक छ।

केलियन एम्बाप्पे (फ्रान्स)

क्लब र देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा स्टार हुन्, केलियन एम्बाप्पे । तर, जारी युरोकपमा भने एम्बाप्पेले आफ्नो कमाल देखाउन सकेका छैनन् । समूह चरणको तीन खेलमा उनी गोलविहीन छन्।

उनले क्लब फुटबलका पिएसजीका लागि निरन्तर गोल गरिरहेका थिए, त्यसैले त उनी लगातार तेस्रो सिजन लिग वानका सर्वाधिक गोलकर्ता बनेका थिए । राष्ट्रिय टिमा पनि उनको प्रदर्शन त्यस्तै थियो।

समूह चरणको पहिलो खेलमा जर्मनीविरुद्ध राम्रो खेलेर पनि गोल गर्न नसकेका एम्बाप्पे त्यसपछिका दुई खेलमा छायामै रह्यो । एम्बाप्पेले गोल नगर्दा पनि फ्रान्सलाई विपक्षीको पोस्टमा गोल गर्न गाह्रो भने भएन । त्यो काम भेट्रान स्ट्राइकर करिम बेन्जिमा र एन्टोइन ग्रिजम्यानले गरेका छन्। 

एम्बाप्पेले गोल गर्न नसक्ने पनि फ्रान्स समूह ‘एफ’को विजेताका रूपमा अन्तिम १६ मा पुगेको छ।

जरार्ड मोरोनो (स्पेन)

अघिल्लो सिजन भिल्लारियलबाट उत्कृष्ट प्रदर्शन गरेपछि मोरोनाले स्पेनिस टिममा नियमित स्थान बनाएका छन्। २९ वर्षीय मोरेनोकै उत्कृष्ट प्रदर्शन मद्दतमा भिल्लारियलले युरोपा लिग जितेको थियो । उनले अघिल्लो सिजन ३० गोल गरेका थिए। 

स्पेनका लागि १४ खेलमा ५ गोल गरिसकेका मोरेनो युरोकपमा भने गोलका लागि संघर्षरत छन् । स्विडेनविरुद्धको पहिलोमा सब्स्टिच्युटका रूपमा मैदान छिरेका उनले पछिल्ला दुई खेलमा सुरुआतमै स्थान बनाए तर उनी खेलमा आफ्ना प्रभाव छाड्न असफल रहे । स्लोभाकियाविरुद्धको समूह चरणको अन्तिम खेलमा मोरेनोले पेनाल्टीमा पनि गोल गर्न सकेनन् ।

समूह चरणमा २ बराबरी र १ जित निलेको स्पेन उपविजेताका रूपमा नकआउट चरण पुगेको छ। अब उसले क्वार्टरफाइनल प्रवेशका लागि विश्वकपको फाइनलिस्ट क्रोएसियाको सामना गर्नेछ। 

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्