शार्कभन्दा पाँच गुणा धेरै मानिसको ज्यान लिन्छ सेल्फीले, सबैभन्दा धेरै भारतमा
सेल्फीले विश्वभर सनसनी मच्चाएको एक दशक पुग्यो। योसँगै शार्क आक्रमणको दाँजोमा पाँच गुणा बढी मानिसको ज्यान पनि लिएको छ।
स्मार्टफोन अझ ‘स्मार्ट’ बन्....
सेल्फीले विश्वभर सनसनी मच्चाएको एक दशक पुग्यो। योसँगै शार्क आक्रमणको दाँजोमा पाँच गुणा बढी मानिसको ज्यान पनि लिएको छ।
स्मार्टफोन अझ ‘स्मार्ट’ बन्दै गएका छन्। सेल्फी स्टिक प्रयोग गरेर विभिन्न प्रकारका फोटो खिच्न उत्तिकै सजिलो भएको छ। ‘पर्फेक्ट शट’का लागि मानिसले ठूला जोखिम मोल्न पनि पछि पर्दैनन्। त्यसैले सेल्फी खिच्ने क्रममा ज्यान गुमाउनेहरूको संख्या वर्षेनी बढ्दै गएको छ।
भारतको जर्नल अफ फेमिली मेडिसिन एन्ड प्राइमरी केयरमा प्रकाशित एउटा अध्ययन प्रतिवेदन अनुसार अक्टोबर २०११ देखि नोभेम्बर २०१७ सम्म विश्वभर कम्तिमा दुई सय ५९ जनाले सेल्फी खिच्ने क्रममा ज्यान गुमाएका छन्। सोही अवधिमा शार्कको आक्रमणबाट ५० जनाको मृत्यु भएको छ।
तुलनात्मक रूपमा सेल्फी महिलाले धेरै खिच्ने गर्छन्। तर युवा पुरूष बढी जोखिम उठाउँछन्। सेल्फीका कारण ज्यान गुमाउनेमध्ये तीन चौथाइ पुरूष नै रहेको अध्ययनमा देखिएको छ। सेल्फी खिच्ने क्रममा डुबेर, ठोक्किएर, लडेर भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन्।
भारतको जनसंख्या एक अर्ब ३० करोडभन्दा धेरै छ। उनीहरूसँग ८० करोड थान मोबाइल फोन छ। आफ्नै फोटो खिच्ने क्रममा ज्यान गुमाउनेहरू सबैभन्दा धेरै भारतीय नै छन्। भारतमा हालसम्म एक सय ५९ जनाले सेल्फी खिच्दा ज्यान गुमाएका छन्। विश्वभर सेल्फीका कारण भएका मृत्युको यो आधा बराबर हो।
भारतीयहरू सामूहिक तस्वीर खिचाउन मन पराउँछन्। भारतको युवा जनसंख्या पनि अत्यधिक छ। केहीअघि फोटो खिच्ने क्रममा युवाको एउटा समूहलाई ट्रेनले किचेको थियो भने अर्काे समूहको डुंगा डुबेको थियो।
परिस्थिति यति गम्भीर बन्दै गएको छ कि भारत सरकारले ‘नो सेल्फी जोन’ अर्थात् सेल्फी निषेधित क्षेत्र पनि स्थापना गरेको छ। मुम्बईमा मात्रै यस्ता १६ वटा स्थान छन्। सेल्फीका कारण रूसमा १६, अमेरिकामा १४ र पाकिस्तानमा ११ जनाको मृत्यु भएको छ। रूसमा सेल्फी खिच्नेहरू पुल र ‘हाइराइज’ भवनबाट खसेका छन्।
आफैंलाई गोली हानेका छन्। बारूदी सुरूङ खेलाउँदा पनि एकको मृत्यु भएको छ। सन् २०१५ मा रूसी प्रहरीले कसरी सुरक्षित सेल्फी खिच्ने भनेर निर्देशिका नै जारी गरेको छ।
अमेरिकामा धेरैले आफैंलाई गोली चलाएका छन्। ‘पर्फेक्ट पोज’ खोज्दा उनीहरूले आफैंलाई गोली हानेका हुन्। त्यसैगरी ‘ग्रान्ड कान्योन’मा पनि धेरैको ज्यान गएको छ। प्लिटभिज्स ताल क्षेत्रमा ७५ मिटर तल खस्दा भाग्यले एक क्यानेडाली बाँचेका थिए। त्यसपछि क्रोसियाका उद्धारकर्मीले ट्वीटरमार्फत पर्यटकहरूलाई ‘मूर्खतापूर्ण र खतरनाक सेल्फी नखिच्न’ आग्रह गरे।
जनवरीमा ताइवानकी सामाजिक सञ्जालकी सेलिबे्रटी जीजी वुको भीरबाट खसेर मृत्यु भयो। पहाडका टाकुरमा बिकिनी लगाएर सेल्फी खिच्ने वु ‘बिकिनी क्लाइम्बर’ उपनामले चर्चित थिइन्। उनी मात्रै ३६ वर्षकी थिइन्। प्राणघातक नभए पनि सेल्फी अत्यन्तै भयानक हुनसक्छ।
सन् २०१४ मा ब्राजिलका राष्ट्रपति उम्मेदवार एद्वार्दाे काम्पोसको अन्तिम संस्कार हुँदा एक महिलाले उनको कफिन अघि मुस्कुराउँदै सेल्फी खिचिन्। उक्त तस्वीरले अनलाइन जगत निकै आक्रोशित भयो।
सामाजिक सञ्जालकी हस्ती सुइली टोलेडोले ‘प्रिय साथीको अन्त्येष्टिमा मेरो लुक’ भनेर इन्स्टाग्राममा फोटो पोस्ट गरेपछि त्यस्तै हलचल भयो। पवित्र मानिएका स्थानमा सेल्फी खिच्नाले प्रश्न उठाउन सक्छ। कसैको मलामी जाँदा अझ संवेदनशील हुनुपर्छ।
पोल्याण्डको आस्विजस्थित पूर्व नाजी शिविरमा प्रत्येक वर्ष २१ लाख आगन्तुक आउँछन्। अनुपयुक्त सेल्फी पोस्ट गर्ने व्यक्तिलाई सम्पर्क गर्न संग्रहालयका कर्मचारी हिच्किचाउँदैनन्। ब्राजिलदेखि भियतनाम र जर्मनीसम्म सडक दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थलको सेल्फी पोस्ट गरेका छन्। यसलाई सबैले अशिष्ट मान्छन्। पर्यटकको लोकप्रिय गन्तव्यमा धेरैले सेल्फी खिच्छन्। स्थानीयका लागि यो समस्या बन्दै गएको छ।
पेरिसको मनोहर आह्यु क्रेम्युका स्थानीय झ्यालबाहिर निरन्तर सेल्फी खिच्ने पर्यटकको लामदेखि यति दिक्क भए कि उनीहरूले आफ्नै इन्स्टाग्राम सुरू गरे। ‘क्लबक्रेम्यु’मा उनीहरूले अन्ठसन्ठ तरिकाले फोटो खिच्ने पर्यटकको तस्वीर पोस्ट गर्न थाले। फोटोको ‘क्याप्सन’ पनि निकै तिखो हुन्छ।
हङकङमा चोई हुङ नामक एउटा बहुरंगी अपार्टमेन्ट कम्प्लेक्स छ। सेल्फीका लागि यो ‘हटस्पट’ नै बनेको छ। फोटो खिच्नेहरूदेखि दिक्क भएका स्थानीयले त्यहाँ फोटो खिच्न निषेध गरिएको सूचना नै राखे। सन् २०१७ मा फेसबुकमा उदेकलाग्दा तस्वीर छाए। ब्राजिलमा गोली हानाहान भएको थियो। बसमा रहेका यात्रु डरले भुइँमा घोप्टिए। केही युवा भने उनीहरूबीच बसेर मुस्कुराउँदै सेल्फी खिचे। यसले निकै हलचल मच्चियो।
अन्त्यहीन सेल्फीको पागलपनबाट वाक्क भियनाले ‘डिजिटल डिटक्स’ को अभियान सुरू गरेको छ। पोहोर बेल्भेडियर संग्रहालयले गुस्ताभ क्लिम्टको ‘क्लासिक’ चित्रकला‘द किस’ को ठूलो प्रतिलिपी प्रदर्शन गर्यो। तस्वीरमाथि ठूलो रातो ‘ह्याशट्याग’ बनाइएको थियो। सेल्फी खिच्नेहरूले अरूलाई पुर्याउने बाधाबारे मानिसलाई बुझाउन यस्तो गरिएको थियो। वास्तविक ‘पेन्टिङ’ अर्कै कोठामा राखिएको थियो।