Kathmandu Press

संवैधानिक अंगमा नवनियुक्त पदाधिकारीलाई नियुक्ति अस्वीकार गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेका संवैधानिक अंगका पदाधिकारीहरूलाई नियुक्ति अस्वीकार गर्न सामाजिक जीवनका २९ जना अभियन्ताले आग्रह गरेका छन् ।
संवैधानिक अंगमा नवनियुक्त पदाधिकारीलाई नियुक्ति अस्वीकार गर्न आग्रह

काठमाडौं, असार १० : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेका संवैधानिक अंगका पदाधिकारीहरूलाई नियुक्ति अस्वीकार गर्न सामाजिक जीवनका २९ जना अभियन्ताले आग्रह गरेका छन् ।

उनीहरूले विज्ञप्तिमार्फत यस्तो आग्रह गरेका हुन् । विश्वदीप लामिछाने, च्यवन घिमिरे, धिरज कोइराला, देवेन्द्र बर्मा, शिव चालिसे, एलिजा ढकाल, ज्योती बोगटी थापा, रमिता अधिकारी, तुल्सीराम भुसाल, सरोजश्री अधिकारी, बुद्धराज रिसाल, हेमन्त बन, तारा गौतम, रमिला महत, राजन कटुवाल (केसी), राविश शर्मा, सुवास अर्याल, छिरिङ धुन्डुप शेर्पा, राजेश लुइटेल, शिवु श्रेष्ठ, गोविन्द बानियाँ, विश्वास द्विवेदी, आत्मराम अतकुल्य, सुरेश अधिकारी, अशु शर्मा, सरोज बस्नेत, बीपी कोइराला, लक्ष्मण सापकोटा र प्रकाश भण्डारीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक एवं प्रतिगमनउन्मुख कदमहरू एकपछि अर्को बढिरहेको तथा अदालतले त्यस्ता कदमहरूको वैधानिकतालाई निरन्तर असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशबाट रोकिइरहेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा विभिन्न संवैधानिक आयोगमा गर्नुभएको नियुक्तिको हामी घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओली संसदभित्र अल्पमतमा परेको बेलामा एकपछि अर्को प्रतिगमनउन्मूख र विधि, विधानविपरीतका हरेक निर्णयहरू अदालतले उल्ट्याएको अवस्थामा आज नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिमा पनि वैधानिक बाटो अवलम्बन गरिएको नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

‘संवैधानिक निकायजस्तो राज्यको महत्त्वपूर्ण निकायमा हुने नियुक्तिको आम स्वीकार्यता हुन आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान राजनीतिक संक्रमणको अन्त्य गर्न तथा संविधान मिचेर गरिएका सबैखाले अवैधानिक कदमको मतियार नहुनका लागि सबै नियुक्ति पाउने व्यक्तित्वहरूले ती पदहरू नैतिकताका आधारमा अस्वीकार गर्दै नियुक्ति नलिइदिनु हुन हामी अपिल गर्दछौँ ।’
 

प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्