Kathmandu Press

जसपा अध्यक्ष ठाकुरले गरे आफूपक्षीय सांसदसँग छलफल

काठमाडौं, असार १० : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आज (बिहीबार) बबरमहलस्थित मधेस भवनमा आफूपक्षीय सांसदहरूसँग छलफल गरेका छन्।उक्त छलफलमा जसपाका...
जसपा अध्यक्ष ठाकुरले गरे आफूपक्षीय सांसदसँग छलफल

काठमाडौं, असार १० : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आज (बिहीबार) बबरमहलस्थित मधेस भवनमा आफूपक्षीय सांसदहरूसँग छलफल गरेका छन्।

उक्त छलफलमा जसपाका ३२ सांसदमध्ये २० जना सहभागी रहेको जनाइएको छ। केही समयअघि सरकारमा सहभागी हुने र नहुने दुईथरी समूह देखिएपछि जसपामा सुरु भएको विवादले चर्को रूप लिएको छ। 

उक्त पार्टीमा यतिखेर आधिकारिकता विवाद निर्वाचन आयोगसम्म पुगेको छ। दुई अध्यक्षले एकअर्कालाई कारबाहीसम्म गरिसकेको अवस्था छ। तर त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको छैन।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उक्त निवेदन प्राप्त भएलगत्तै दाबी प्रस्तुत गर्न निर्वाचन आयोगले ठाकुरलाई पनि पत्र पठाएको छ।

त्यसैबारे आजको बैठकमा छलफल भएको बताइएको छ। ठाकुरले बुधबार कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए।

संसदहरुसँग छलफलपछि समय रहे आजै नभए चाँडै कार्यकारिणी समितिको पनि बैठक राख्ने  र आयोगमा पेस गर्न हस्ताक्षर पनि संकलन गर्ने बताइएको छ ।

जसपाका एक सांसदले अनौपचारिक रूपमा भएको छलफलमा सामान्य विचारमिमर्शका मात्र गरिएको बताए।
 

प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, असार १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्