ज्ञानेन्द्रको सिको गर्दै ओली निरंकुशतातर्फ उन्मुख : उपेन्द्र यादव
काठमाडौं, असार १० : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री र राष्ट्रपतिका असंवैधानिक कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा संघर्ष अगाडि...
काठमाडौं, असार १० : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री र राष्ट्रपतिका असंवैधानिक कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा संघर्ष अगाडि बढाउने बताएका छन्।
विपक्षी गठबन्धनका तर्फबाट आज (बिहीबार) संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले त्यस्तो बताएका हुन्।
यादवले प्रधानमन्त्री ओली राजा ज्ञानेन्द्रको सिकाे गर्दै अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर धकेल्ने प्रयत्नमा प्रयत्नमा लागेको आरोप लगाए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत संविधानको ख्याल नगरेको उल्लेख गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आह्वानअनुसार प्रतिनिधिसभाका १ सय ४९ सदस्यको हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि प्रस्ताव गरिएको भए पनि उनले प्रधानमन्त्री केपी ओलीलाई नै साथ दिएको उनको भनाइ थियो।
बहुमत सांसदको समर्थन रहेका कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्ति नगर्नुले राष्ट्रपतिको शंकास्पद भूमिका स्पष्ट रूपमा देखिएको उनले बताए।
राष्ट्रपति भण्डारीको कदमप्रति टिप्पणी गर्दै अध्यक्ष यादवले ओलीबाहेक अरूलाई प्रधानमन्त्री नियुक्ति गर्दिन भनेर राष्ट्रपतिले भन्न सक्नुपर्ने बताए। संविधान र लोकतन्त्रको रक्षाका लागि विपक्षी गठबन्धनमा रहेका सबै दलसँगै अरू सबै मिलेर अगाडि बढ्नसपर्नेमा उनले जोड दिए।
‘सबैको सदभाव र सहयोग चाहन्छौं। संविधान र लोकतन्त्रको रक्षामा हस्,’ उनले भने।











