Kathmandu Press

माफियाले देशै हडप्न खोजे: सभामुख महरा

भक्तपुर, असार १४ : सभामुख कृष्णबहादुर महराले माफियाले देश नै हडप्न खोजेको बताएका छन्।

भक्तपुरमा शनिबार बिहान आयोजना गरिएको राष्ट्रिय वृ....

माफियाले देशै हडप्न खोजे: सभामुख महरा

भक्तपुर, असार १४ : सभामुख कृष्णबहादुर महराले माफियाले देश नै हडप्न खोजेको बताएका छन्।

भक्तपुरमा शनिबार बिहान आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले भने,‘अहिले देशमा माफियाहरु सक्रिय छन्, ती माफियाले देशै हडप्न खोजेका छन्।’ उनले राजनीतिमा सफाइ जरुरी रहेको पनि बताए।

‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, त्यसैले राजनीतिक सफाइ जरुरी छ,’ महराले भने।

फरक प्रसंगमा सभामुख महराले व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको बताए। उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपाका सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमूना जिल्ला बनाउने दाबी गर्दै तीन वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने बताए।

आकाशे पानी संकलन अभियान, प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरीको निर्माण गर्ने, सडक बालबालिकामुक्त जिल्ला बनाउने, जाममुक्त, उज्यालो भक्तपुर बनाउने उनको भनाइ थियो।
 

प्रकाशित मिति: १२:५७ बजे, शनिबार, असार १४, २०७६