Kathmandu Press

दलितलाई कोठा नदिने प्रधानलाई रिहापछि मन्त्री श्रेष्ठले सरकारी गाडीमा पुर्याए घर

काठमाडौं, असार ९ : दलित भएकै कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा भाडामा कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधान रिहा...
दलितलाई कोठा नदिने प्रधानलाई रिहापछि मन्त्री श्रेष्ठले सरकारी गाडीमा पुर्याए घर

काठमाडौं, असार ९ : दलित भएकै कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा भाडामा कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधान रिहा भएकी छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपुरो रहेको बताएपछि प्रहरीले उनलाई रिहा गरेको थियो। रिहा भएकी प्रधानलाई लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयं प्रहरी कार्यालय पुगेका थिए।

मन्त्री श्रेष्ठले आफ्नो सरकारी गाडीमा प्रधानलाई राखेर घरसम्म पुर्‍याइदिएका थिए। जातीय विभेदको आरोपमा पक्राउ परेकी प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै अहिले मन्त्री श्रेष्ठको आलोचना भइरहेको छ।

आज (बुधबार) प्रधानलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन पनि भएको थियो। मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा प्रदर्शनकारीहरूले ‘रूपा सुनार मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

प्रधान छुटेलगत्तै उनीहरूले सिटी लगाउँदै जितको संकेत दिनेगरी होहल्ला गरेका थिए। जातीय विभेदको आरोपमा पक्राउ परेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर घर पुर्‍याएको कुराको अहिले ‘पद र सरकारी गाडीको दुरुपयोग’ भन्दै आलोचना भइरहेको छ।

प्रकाशित मिति: १५:५० बजे, बुधबार, असार ९, २०७८