७६ (५) मा ७६ (२) भनेको दल होइन, दलका सांसद हुन्ः वरिष्ठ अधिवक्ता यादव
वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) मा ७६ (२) को प्रसंग उल्लेख गरिएको दलका लागि नभई सांसदहरूको हकमा रहेको बताएका छन् ।
काठमाडौं, असार ९ : वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) मा ७६ (२) को प्रसंग उल्लेख गरिएको दलका लागि नभई सांसदहरूको हकमा रहेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बुधबारदेखि सुरु भएको बहसमा सहभागी हुँदै यादवले धारा ७६ (५) मा ७६ (२) अन्तर्गत्का दलका सांसदहरू उल्लेख भएको तर्क गरे । र, उनले उनले संविधानको धारा ७६ (५) अन्तर्गत् दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने नभई सांसदहरूको बहुमतका आधारमा सरकार बन्ने दाबी प्रस्तुत गरे ।
यादवले राष्ट्रपतिलाई दाबी पुगेन भन्ने अधिकार नभएको बताए । राष्ट्रपतिले अधिकार प्रयोग गर्ने नभई कर्तव्य वहन गर्ने व्यवस्था संविधानमा रहेको उल्लेख गरे ।
‘राष्ट्रपतिले यसलाई बनाउने, उसलाई बनाउने भन्ने होइन । दाबी पुगेन भन्न मिल्दैन । राष्ट्रपतिलाई त्यो अधिकार छैन । धारा ९९ को अधिकार उहाँलाई होइन, संसद्को अधिकार हो,’ उनले भने ।











