ओलीबाट गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षता खतरामा : जनमोर्चा
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी ओलीबाट गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा खतरा देखिएको बताएको छ।
काठमाडौं, असार ९ : राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी ओलीबाट गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा खतरा देखिएको बताएको छ।
अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीले सुरुदेखि नै संवैधानिक व्यवस्था, विधिको शासन र संविधानको सर्वोच्चतालाई लत्याउँदै आएको बताएका हुन्। स्वेच्छाचारी ढंगबाट सरकार चलाउने तथा विभिन्न निर्णय गर्दै आएको उनले बताएका छन्।
विज्ञप्तिमा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेकामा स्वागत गरिएको छ। २० जना मन्त्रीको नियुक्त अवैध घोषणा गर्ने सर्वोच्चको अन्तरिम आदेशले संविधानको रक्षामा योगदान दिएको केसीको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष केसीले प्रधानमन्त्री ओलीविरुद्ध संघर्षका लागि पनि आह्वान गरेका छन्। ‘उनीविरुद्ध संघर्ष गरिएन भने गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता खतरामा पर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ओलीले लादेको प्रतिगमनविरुद्ध संघर्षका लागि सम्पूर्ण प्रतिगमनविरोधी शक्तिबीच सहकार्यको आवश्यकता देखिएको छ।’ सत्ताबाट ओलीको बहिर्गमन नै अहिलेको राजनीतिको मुख्य कार्य रहेको उनको भनाइ छ।











