Kathmandu Press

पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै

पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै

कास्की, असार ९ : नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड २०७६र०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको हो ।

मञ्चको मङ्गलबार बसेको बैठकले सो दिन विश्व खेलकूद पत्रकार दिवससमेत परेकाले भर्चुअलबाटै भए पनि अवार्ड वितरण समारोह गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकाी दिए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रङ्गशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअलमार्फत अवार्ड समारोह गर्न स्वीकृत दिएबमोजिम अवार्ड कार्यक्रम तयारी अघि बढाइएको हो।

यस वर्ष गत वैशाख २० का लागि तयारी गरिएकामा निषेधाज्ञाका कारण अन्तिम समयमा आएर स्थगन गरिएको थियो । समारोहमा विगतमा झैँ यसपटक विभिन्न सात विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल सङ्घ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गरिने महासचिव विजय नेपालले जानकारी दिए। वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक भइसकेको छ ।

खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । दुई वर्षको अवधिमा खेलाडीले प्रस्तुत गरेको आफ्नो प्रतिभा प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिने छ । मञ्चले कोरोनाका कारण ज्यान गुमाएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सङ्क्रमित पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।साथै स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितसाथ सञ्चारकर्ममा लाग्न पनि मञ्चले आग्रह गरेको छ।

प्रकाशित मिति: १०:५१ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्