गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्नुपर्यो : नेता नेपाल

काठमाडौं, असार ८ : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले संसद्, सरकार र पार्टी नेकपा साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्नुपरेको बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत नेता नेपालले यस्तो बताएका छन् । उनले लेखेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्।’
सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा नपुर्याउने र राम्रो परिणाम नदिने उनले बताए ।
उनले एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हुन र मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन लाग्नका लागि आह्वान समेत गरेका छन् ।











