Kathmandu Press

माधव नेपालसँग मिल्न वामदेवका ३ शर्त : पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र नयाँ पार्टीको अध्यक्ष

एमाले उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर अगाडि बढ्न तीनवटा शर्त अगाडि सारेका छन्– पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र नयाँ पार्टीको अध्यक्षमा आफूलाई स्वीकारिनुपर्ने।
माधव नेपालसँग मिल्न वामदेवका ३ शर्त : पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र नयाँ पार्टीको अध्यक्ष

काठमाडौं, असार ८ : एमाले उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिन तनिवटा शर्त अगाडि सारेका छन्।

प्रत्यक्ष निर्वाचन प्रणाली हटाएर पूर्ण रूपमा समावेशी समानुपातिक प्रणाली अपनाउन वरिष्ठ नेता नेपालले सहमति जनाउनुपर्ने उनको पहिलो शर्त छ। आम निर्वाचनमा पार्टीबाट उम्मेदवार खडा गर्ने नभई चुनाव चिह्नमा चुनावी प्रतिस्पर्धा हुने र दलहरूले तयार पारेको समानुपातिक बन्द सूचीअनुसार सांसदहरू चयन हुनुपर्ने उनको शर्त छ।

यस्तै, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा अगाडि बढ्न नेता नेपाल सहमत हुनुपर्ने उनको शर्त छ। हालको आलंकारिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको प्रणालीबाट राजनीतिक स्थायित्व दिन नसकिने भएकाले यसलाई छाडेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनको बुझाइ देखिएको छ।

तेस्रो- एमाले एक नरहने परिस्थितिमा नेपाल समूहले खडा गर्ने नयाँ पार्टीको अध्यक्ष आफूले पाउनुपर्ने शर्त उनले अगाडि सारेका छन्।

सोमबार नेपाल समूहका १५ जना केन्द्रीय सदस्यहरूसँग ललितपुर भैंसेपाटीस्थित आफ्नो निवासमा भएको भेटमा एमाले उपाध्यक्ष गौतमले ती शर्त अगाडि सारेका हुन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भने आफू अटाउन सक्ने कुनै सम्भावना नरहेको गौतमले बताएको भेटमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। तथापि, आफ्नो विचारसँग जो सहमत हुन्छ, उसैसँग मिल्न आफू तयार हुने पनि गौतमले बताएका छन्।

यदि आफ्नो विचार मान्न ओली र नेपाल दुवै समूह तयार नभए कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने हिसाबले आफ्नो नेतृत्वमा नयाँ पार्टी खडा गर्ने सम्भावना रहेको संकेत गौतमले केन्द्रीय सदस्यहरूलाई गरेका थिए।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले उपाध्यक्ष गौतमसँग भेट भएको पुष्टि गरे। ‘हामी कुनै प्रस्ताव लिएर नभई वाम आन्दोलनका वरिष्ठ नेता गौतमसँग सद्‍भाव भेटमा गएका थियौँ। त्यसक्रममा उहाँले आफ्ना विचार र एजेन्डाहरू हामीलाई बताउनुभएको हो,’ खतिवडाले भने, ‘कुनै शर्तका रूपमा भन्दा पनि आफ्ना विचार र एजेन्डाबारे उहाँले हामीसँग छलफल गर्नुभएको हो।’

सर्वोच्च अदालतले एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित २ जेठ ०७७ सम्मको केन्द्रीय समिति मात्र मान्य हुने आदेश दिएपछि उक्त पार्टीमा एकताको सम्भावना बढको थियो । तर, अध्यक्ष पक्ष उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट)मा गएपछि पार्टी एकता फेरि संशयमा परेको छ । यही सन्दर्भमा वरिष्ठ नेता नेपाल समूहमा फेरि अन्योल छाएको छ ।

सोही कारण नेपाल समूहका नेताहरू आ-आफ्ना कोणबाट छलफल र विचार विमर्शमा छन् । सोही क्रममा आइतबार १५ जना केन्द्रीय सदस्यहरू उपाध्यक्ष गौतमसँग छलफलका लागि गएका थिए । त्यसक्रममा उपाध्यक्ष गौतमले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्दै नयाँ विचारका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

केन्द्रीय सदस्य खतिवडाका अनुसार भेटमा गौतमले पार्टी अध्यक्ष ओलीको कार्यशैलीसँग आफू असन्तुष्ट रहेको बताएका थिए । अध्यक्ष ओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने आशय उनले व्यक्त गरेका थिए । त्यसका लागि ओलीसँग कुनै एजेन्डा र दृष्टिकोण नरहेको उनले बताएका थिए ।

यसअघि बालुवाटारमा अध्यक्ष ओलीसँग भएको सन्ध्याकालीन भेटमा गौतमले उनको कार्यशैलीसँग तीव्र असन्तुष्टि जनाउँदै बीचमै उठेर हिँडेका थिए । त्यसपछि ७ जेठमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनको पनि गौतमले विरोध गरेका थिए ।

‘कम्युनिस्ट पार्टीको पुनर्गठन जरुरी छ भन्ने उहाँको दृष्टिकोण देखिन्छ,’ खतिवडाले भने, ‘उहाँसँग वर्तमानभन्दा पनि इतिहासका कुरा सोधीखोजी गर्न गएका थियौँ । उहाँले ऐतिहासिक सन्दर्भहरू हामीलाई बताउनुभयो ।’

भेटमा माधवकुमार नेपालको नेतृत्वमा कम्युनिस्ट पार्टीको पुनर्गठन कतिको सम्भव हुनेछ भन्ने जिज्ञासा पनि गौतमले राखेका थिए । आफ्नो नेतृत्वमा कम्युनिस्ट पार्टीको पुनर्गठन सम्भव रहेको आशय उनले व्यक्त गरेका थिए ।

‘पार्टी कस्तो बनाउने भन्ने सन्दर्भमा उहाँको दृष्टिकोण पार्टीलाई रूपान्तरणको दिशामा लैजानुपर्छ भन्नेमा शंका छैन भन्ने देखिनछ । अबको रूपान्तरण भनेको शासन प्रणालीमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली निर्विकल्प हुन् भन्ने उहाँको दृष्टिकोण पायौँ,’ खतिवडाले भने, ‘छलफलको मुख्य विषय त्यतै केन्द्रित भयो ।’

राष्ट्रिय राजनीतिको अहिलेको अस्थिरतालाई समाप्त पार्न पनि पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनको विचार गौतमले छलफलमा व्यक्त गरेका थिए । ती एजेन्डा जोसँग मिल्छ, आफू छलफल गर्न तयार रहेको उनले बताएका थिए ।

प्रकाशित मिति: १५:०१ बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्