Kathmandu Press

नेकपाका एकीकरण घोषणा गरिएका जनसंगठन अलपत्र

काठमाडौं, असार १३ : नेकपाले मदन–आश्रित स्मृति दिवशको अवसरमा बल्खुबाट घोषणा गरिएको साविक एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनको एकता घोष....

नेकपाका एकीकरण घोषणा गरिएका जनसंगठन अलपत्र

काठमाडौं, असार १३ : नेकपाले मदन–आश्रित स्मृति दिवशको अवसरमा बल्खुबाट घोषणा गरिएको साविक एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनको एकता घोषणामै सीमित भएको छ।

न नयाँ नाम र नेतृत्वबाट काम सुरु भएको छ न पुराना संगठन कायम छन्। सपथसम्म नहुँदा सबै संगठन अलपत्र परेका छन्।  एकताको डेढ महिना बित्दा समेत २२ वटा जनवर्गीय संगठनको एकता घोषणा गरिएकोमा कुनै पनि कार्यालयको बोर्डसम्म फेरिएको छैन। उनीहरूको सपथग्रहण पनि भएको छैन।

साविक नेकपा (माओवादी केन्द्र)को तत्कालीन केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा रहेको युथ कम्युनिष्ट लिगको केन्द्रीय कार्यालयमा बोर्ड र झण्डा उही छ। नेकपा महासचिवले मदननगर, बल्खुमा घोषणा गरेअनुसार, उक्त संगठनको नाम अब युवासंघ, नेपाल हुनुपर्ने हो। त्यसका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ हुन्। 

युवासंघको कार्यालय चाहिँ बुद्धनगरमै छ। त्यसमा सहअध्यक्ष घोषणा भएका रमेश पौडेल नै अध्यक्षको हैसियतमा त्यहाँबाट काम गरिरहेका छन्। न दीपशिखा बुद्धनगरको कार्यालयबाट संगठन हाँकिरहेका छन् न त पौडेल नै पेरिश डाँडा जान पाएका छन्। 

त्यस्तै अवस्था छ अर्को प्रभावशाली संगठन अनेरास्ववियूको पनि। दुवै संगठनको एकता घोषणा गरिएपछि साविक एमाले अखिलका महासचिव ऐन महर संयोजकमा पदोन्नति त भए, तर उनको समेत सपथग्रहण भएको छैन। अखिल क्रान्तिकारीका रञ्जित तामाङ अनेरास्ववियुका सह–संयोजक भनिए, उनी पनि अखिल क्रान्तिकारीको अध्यक्षकै रुपमा त्यही कार्यालयमा कार्यरत छन्। एकता घोषणापछि २२ वटै जनवर्गीय संगठनको गतिविधि एकता घोषणाअघि भन्दा सुस्त छ। अर्थात्, कुनै गतिविधि नै छैन।

युवासंघका संयोजक दीपशिखाले काठमाडौंप्रेससँग कुरा गर्दै भने, ‘अहिले संगठन अलपत्र छ। पार्टीले नेतृत्वको घोषणा कसरी गर्ने भनेर जिम्मा दिएको पनि छैन। हामीलाई आफैँ एकीकृत नेतृत्व बनाएर काम अघि बढाउन पनि अनुमति छैन।’ उनले आफूहरू पार्टीको निर्णय पर्खेर बसिरहेको बताए। 

आफ्नो जस्तै अवस्था अन्य जनवर्गीय संगठनको पनि भएको उनले बताउँदै भने, ‘पार्टीको नेतृत्वलाई हाम्रोभन्दा बढी पार्टीको केन्द्रीय कमिटीको जिम्मेवारी बाँडफाँट, पोलिटव्युरो गठन जस्ता काम बढी महत्वपूर्ण लागेकाले हुनसक्छ।’ उनले औपचारिक ठाउँमा ‘वाइसीएल’ लेख्न छाडे पनि संगठनको नाम र झण्डा पनि पुरानै रहेको बताए।

साविक एमालेको भागमा परेको अखिलका संयोजक घोषित महराले भने, ‘बाहिर देखिने गरी एकता घोषणापछि केही काम भएको छैन तर हामीले कार्यालय र केन्द्रीय कमिटी २०१ जनाको एउटै बनाएर जान छलफल गरेका छौँ। पार्टीले सपथग्रहण गराउला र त्यसपछि काम अघि बढाउला भनेर प्रतीक्षा ग¥यौँ। यो नभएपछि काम अघि बढाएका छौँ।’ 

महरले दुवै संगठनको भौतिक सम्पत्ति पनि निकै रहेकाले अहिलेका दुवै कार्यालयमध्ये कुनै एउटामा एकीकृत संगठनको कार्यालय हुन नसक्ने अवस्था रहेकाले नयाँ कार्यालय खोल्नुपर्ने पनि बताए।  

नेकपा एकीकरण टुङ्ग्याएको घोषणा गरेको मुख्य संगठनको नाम, सदस्य संख्या संयोजक र सहसंयोजक :
–    युवासंघ, केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल
–    अनेरास्ववियु, केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ
–    नेपाल मुस्लिम संगठन, केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक सराहज अहमद, सहसंयोजक अटहर हुसेन
–    प्रेस संगठन नेपाल, केन्द्रीय कमिटी १५१ सदस्यीय, संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत
–    अपाङगता संगठन नेपाल, केन्द्रीय कमिटी ६९ सदस्यीय, संयोजक इन्द्रमाया गुरुङ, सहसंयोजक रामप्रसाद ढुङ्गाना
–    नेपाल दलित मुक्ति संगठन, केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक तिलक परियार, सहसंयोजक वोमबहादुर विश्वकर्मा
–    जनसांस्कृतिक महासंघ नेपाल, केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक खगेन्द्र राई, सहसंयोजक सूर्य पौडेल
–    नेपाल उद्योग व्यवसायी महासंघ, केन्द्रीय कमिटी १५१ सदस्यीय, संयोजक लक्ष्मीदास मानन्धर, सहसंयोजक श्याम पाठक
–    नेपाल बुद्धिजिवी संगठन, केन्द्रीय कमिटी १६१ सदस्यीय, संयोजक दिनेशचन्द्र देवकोटा, सहसंयोजक कृष्ण केसी 
–    मानवअधिकार तथा समाजिक अभियान केन्द्रीय कमिटी ४५ सदस्यीय, संयोजक मीनबहादुर शाही, सहसंयोजक भुपेन पोखरेल
–    पेशागत महासंघ, केन्द्रीय कमिटी १११ सदस्यीय, संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक दयाराम बस्याल
–    भूमिहीन सुकुम्बासी संगठन, केन्द्रीय कमिटी ९९ सदस्यीय, संयोजक रामप्रित पासवान, सहसंयोजक पदम देवकोटा
–    आदिवासी जनजाति महासंघ, केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक सुरेश आलेमगर, सहसंयोजक शेरबहादुर तामाङ
–    भूतपुर्व सैनिक तथा प्रहरी संगठन केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक धनबहादुर चन्द, सहसंयोजक जीवन बुढा
–    टे«ड युनयिन महासंघ केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक विनोद श्रेष्ठ, जगत सिंखडा
–    अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक अमृता थापा, सहसंयोजक सीता पौडेल
–    अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटी २५१ सदस्यीय, संयोजक बामवेद गौतम, सहसंयोजक चित्रबहादुर श्रेष्ठ
–    प्रवासी नेपाली एकता मञ्च भारत, केन्द्रीय कमिटी १९९ सदस्यीय, संयोजक लोकनाथ भण्डारी, सहसंयोजक ईश्वरी भण्डारी
–    खेलकुद महासंघ, नेपाल संयोजक पुरुषोत्तम पौडेल, सहसंयोजक शिव कोइराला

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, असार १३, २०७६