सिसडोल संघर्ष समितिको चेतावनी– माग पूरा नभए काठमाडौंको फोहोर फाल्न दिन्नौं
काठमाडौं, असार १३ : सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे कडा स....

काठमाडौं, असार १३ : सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे कडा संघर्षमा पनि उत्रिन बाध्य हुने चेतावनी दिएको छ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले सिसडोल व्यवस्थापन अस्तव्यस्त सधैंका लागि बन्द गर्नुपर्ने र सिसडोल डम्पिङबाट सिर्जित समस्याहरुको अन्तराष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने मुख्य माग अघि सारेको हो। आफूहरुको जायज माग समयमै सम्बोधन नभए जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने समितिको चेतावनी छ।
समस्यालाई लिएर काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुसँग धेरै पटक वार्ता गर्दापनि समस्याको समाधान नगरेको समितिको आरोप छ। आफूहरुको समस्यालाई बेवास्ता गरिएको भन्दै हिजैदेखि समितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न नदिएको र सधैंका लागि बन्द गर्ने पनि घोषणा गरेको छ।
कार्यक्रममा समितिका अध्यक्ष चक्रमान बलामीले आफूहरुले अघि सारेका माग पूरा गर्नुपर्नेमा जोड दिए। उनले भने,‘फोहोर फाल्ने सरकारी जग्गा फोहोरले पूरा ओगटिसकेको छ। अब फोहोर व्यवस्थापन गर्ने जग्गा नै छैन।’ सरकारले सिसडोलको विकल्प खोज्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा समितिका बरिष्ठ सल्लाहकार ज्ञानेन्द्र प्रकाश गजुरेलले संघर्ष समिति कुनैपनि पार्टीसँग आवद्ध नभई विशुद्ध पीडितहरु आवद्ध भएको बताए। उनले राज्यले पीडितहरुको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष पुष्पकुमार शाहीले संघर्ष समितिले अघि सारेका मागहरु सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए। दुई÷चार दिनभित्र समस्याको समाधान नगरे सरकारविरुद्ध नेविसंघले सशक्त आन्दोलन छेड्नेपनि शाहीले चेतावनी दिए।











