टोकियो ओलम्पिक रंगशालामा १० हजारसम्म दर्शक उपस्थित हुन सक्ने
टोकियो, असार ७ : टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ।रंगशालामा केकति दर्शकलाई...
टोकियो, असार ७ : टोकियो ओलम्पिक आयोजक समितिले टोकियो ओलम्पिक खेलमा रंगशालामा १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिने निर्णय गरेको छ।
रंगशालामा केकति दर्शकलाई उपस्थित हुन दिने भन्नेमा अन्योल भइरहेको अवस्थामा खेल आयोजनाका मुख्य पाँच पक्षहरु अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, आइपिसी, टोकियो २०२० आयोजक समिति, टोकियो महानगर र जापान सरकारबीच यस्तो सहमति भएको हो।
आयोजक समितिका तर्फबाट जारी विज्ञप्तिमा रंगशालाको कूल क्षमताको आधालाई मात्र रंगशालामा उपस्थित हुन दिइने उल्लेख छ। तर विदेशी दर्शकलाई भने यसपटकको ओलम्पिकमा उपस्थित हुनबाट प्रतिबन्ध लगाइएको छ।
समितिले रंगशालामा खेल हेर्न आउने प्रत्येक दर्शकले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने तथा स्वास्थ्यका अन्य मापदण्ड पालना गर्नुपर्ने जनाएको छ। रंगशालाभित्र ठुल्ठूलो स्वरले कराउन, चिच्याउन वा हुटिङ गर्न नपाइने पनि समितिले बताएको छ।
विज्ञप्तिमा दर्शकलाई यताउति नगरी सोझै रंगशालामा जान र रंगशालाबाट बाहिर निस्केर उसैगरी सोझै घरतर्फ जान सुझाइएको छ।











