बाढी, पहिरोमा परी १८ जनाको मृत्यु, २१ जना बेपत्ता
काठमाडौं, असार ६ : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आज दिउँसोसम्म १८...
काठमाडौं, असार ६ : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आज दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमध्ये सिन्धुपाल्चोकमा ४ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ र बाजुराका १-१ जना रहेको नेपाल प्रहरीले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी १९ जना घाइते भएका छन् । यस्तै, बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् ।
उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको छ । पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ ।
बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन् । २ सय ५ वटा घर, ११ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय २९ वटा पशु चौपायको मृत्यु भएको छ ।











