Kathmandu Press

उपत्यकामा थपियो एक साता निषेधाज्ञा, जोरबिजोर प्रणालीमा निजी सवारी चल्न दिइने

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज (आइतबार) बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
उपत्यकामा थपियो एक साता निषेधाज्ञा, जोरबिजोर प्रणालीमा निजी सवारी चल्न दिइने

काठमाडौं, असार ६ : निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलाउन पाइने गरी काठमाडौं उपत्यका प्रशासनले एक साता निषेधाज्ञा लम्ब्याएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज (आइतबार) बसेको बैठकले असार १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

निजी सवारीसाधनमा पनि जोर गते जोर नम्बर प्लेट भएका र बिजोर गते बिजोर नम्बर भएकालाई चलाउन दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

ट्याक्सीलाई पनि जोरबिजोर लागू गरेर चलाउन दिने निर्णय भएको ललितपुर प्रशासनले जनाएके छ।  

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै त्यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका प्रशासनले वैशाख १६ गते निषेधाज्ञाको आदेश जारी गरेको थियो, जसलाई विभिन्न समयमा थप गर्दै अहिलेसम्म निरन्तरता दिइएको छ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुँडा, अटोमोबाइल्स, विद्युतीय सामग्री पसल खोल्न दिने निर्णय गरिएको काठमाडौं प्रशासनले जनाएको छ।

त्यस्तै सोमबार, बुधबार र शुक्रबार सोही समयमा सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, कस्मेटिक, टेलरिङ, गिफ्ट पसललगायत खोल्न दिने जनाइएको छ।

खाद्यान्न, तरकारी, दूध, किताब पसललगायत बिहान ११ बजेसम्म मात्रै खोल्न दिने अघिल्लो पटकको निर्णयलाई नै कायम गरिएको छ।

रेस्टुरेन्ट भने टेक अवे र होम डेलिभरी मात्र गर्न पाइने बताइएको छ। हार्ड वेयर पसल भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय भएको छ।

शनिबार अत्यावश्यकबाहेक अन्य कुनै पसल पनि खोल्न नदिने निर्णय पनि उपत्यका प्रशासनले गरेको छ।

सरकारी कार्यालय आलोपालो गरी खुला गर्नुपर्ने निर्णय भएको बताइएको छ।

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, असार ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्