स्याउ तस्करीमा प्रहरीकै मिलेमतो पाइएपछि दुई छानबिन समित गठन
काठमाडौं, असार ४ : निषेधाज्ञाबीच चिनियाँ स्याउ नेपालको सुनसरीको लौकही नाका हुँदै भारततर्फ तस्करी भएको पाइएपछि प्रहरी संलग्नताको आशंका गरिएको थियो। त्यसबारे छानबिन...
काठमाडौं, असार ४ : निषेधाज्ञाबीच चिनियाँ स्याउ नेपालको सुनसरीको लौकही नाका हुँदै भारततर्फ तस्करी भएको पाइएपछि प्रहरी संलग्नताको आशंका गरिएको थियो। त्यसबारे छानबिन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै समिति बनाएका छन्।
प्रहरी स्रोतका अनुसार स्याउ तस्करीमा प्रहरीका माथिल्लो तहका अधिकारीदेखि तल्लो तहका प्रहरी अधिकृतसम्म मुछिएका छन्। त्यसकारण दुवै प्रहरी संगठनले एसएसपीको नेतृत्वमा छुटाछुट्टै समिति बनाएर अनुसन्धान सुरू गरेका हुन्।
छानबिनका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले संघीय प्रहरी एकाइ कार्यालय धरानका एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। जसमा प्रदेश प्रहरी कार्यालयका प्रहरी डिएसपी लक्ष्मी भण्डारी, इन्स्पेक्टर मोहन रायमाझीलगायत सदस्य छन्।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीले त्यहीकै एसएसपी प्रकाश थापा र डिएसपी नविन बोगटीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।
चीनबाट ल्याइएका स्याउ भारत तस्करी गर्न प्रहरीकै मिलेमतोको आशंका भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अलगअलग रूपमा छानबिन थालेका हुन्।
चीनबाट आयात गरिएको स्याउ अवैध रूपमा सीमा कटाएर भारतको वीरपुर पुर्याइएपछि त्यहाँ प्रहरीको तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएको थियो।
त्यहाँ तीनवटा नेपाली ट्रकसहित आठजनालाई भारतीय प्रहरीले पक्राउ गरेसँगै स्याउ तस्करीको घटना सार्वजनिक भएको थियो।











