नेपालको विकासशील मुलुक बन्ने अभियानमा सहयोग गर्छौं: विश्व बैंक
काठमाडौं, असार १२ : विश्व बैंकले नेपालको दीर्घकालीन लक्ष्य हासिल गर्ने अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
बिहीबार अर्थमन....

काठमाडौं, असार १२ : विश्व बैंकले नेपालको दीर्घकालीन लक्ष्य हासिल गर्ने अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डि एन्जेलोले सन् २०२२ सम्ममा नेपालको विकासशील मुलुक बन्ने अभियानलाई विश्व बैंकले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।
सन् २०३० सम्म कम आयस्तरको मुलुक बन्ने नेपालको अभियानमा दरिलो साथ दिने प्रतिवद्धता पनि बैंकले जनाएको छ। भेटका अवसरमा अर्थमन्त्री खतिवडाले बैंकका उपाध्यक्ष एवं महालेखा परीक्षकलाई स्वागत गर्दै नेपालको विकास प्रयासमा बैंकको निरन्तर सहयोगप्रति धन्यवाद समेत दिएका थिए।
सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्यहासिल गर्न वर्तमान सरकार कटिवद्ध रहेको अर्थमन्त्री खतिवडाले बताएका थिए।
उनले संघीय संरचना अनुरुप स्थानीय तह, प्रदेश र संघीय सरकारले ईमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गरेका थिए।
अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र श्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैंकलगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा रहेको बताएका थिए।











