गोठालो जाँदा बेपत्ता भएका सात जनाको खोजी हुन सकेन
जाजरकोट, असार ४ : भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुनसकेको छैन। मङ्गलबारदेखि हराइरहेका कुशे...
जाजरकोट, असार ४ : भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुनसकेको छैन।
मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं. ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आएका छैनन्।
पानीसँग आएको हावाहुरीले उडाएर बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए। सोही घटनामा परी बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए।
त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ। बुधबार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो।
प्रहरी र स्थानीयवासी भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए। घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयवासीको भनाइ छ।
बेपत्ताको उद्धारका लागि गृह मन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ। उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरीसहितको बहुकाले माथि जान नसकेको उनले बताए। घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ। (रासस)











