Kathmandu Press

काठमाडौँ महानगरले सय बेडको ‘विशेष अस्पताल’ बनाउने

काठमाडौं, असार ३ : काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ बनाउने भएको छ।आज...
काठमाडौँ महानगरले सय बेडको ‘विशेष अस्पताल’ बनाउने

काठमाडौं, असार ३ : काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ बनाउने भएको छ।

आज (बिहीबार) राष्ट्रिय सभागृहमा आयोजित नवौँ नगरसभाको पहिलो बैठकमा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त जानकारी दिएका हुन्।

नीति तथा कार्यक्रममा कोभिड-१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। कोभिड-१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि सहयोग गरिने उल्लेख छ।

‘कोभिड-१९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्यसेवाको प्रत्याभूत गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसमा उल्लेख छ, ‘विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइनेछ।’ 

महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने, यस्ता फार्मेसी सञ्चालकहरूलाई महानगरपालिकामा तिर्नु बुझाउनुपर्ने कर, शुल्क, दस्तुरमा सहुलियत प्रदान गर्ने, नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत महानगरवासीको स्वास्थ्य बिमा गर्ने, महानगरवासीहरूका लागि बिमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने पनि महानगपालिकाले नीति लिएको छ।

महनगरले सम्पदा संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ। विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, ‘ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाउने कार्यक्रम पनि त्यसमा समेटिएका छन्।

अन्य विशेष कार्यक्रमहरूमा ‘नागरिक स्वास्थ्य विमा कार्यक्रम’, ‘एक वडा एक नमुना विद्यालय कार्यक्रम’, ‘कक्षा ४ देखि नैतिक शिक्षा’, ‘सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा रहेका छन्।

त्यस्तै ‘पौरखी मेला’ देखि ‘रिभल्विङ फन्ड’ सम्मको योजना समेटिएको नीति तथा कार्यक्रमले ‘उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने’, ‘मेयर रिसर्च फेलोसिपलाई निरन्तरता दिने’, ‘महानगरपालिका कामबारे सुसूचित गराउन लेखनवृत्ति’, ‘महानगर डाटा बैंकको स्थापना’ ‘नाकामा भेइकल क्लिनिङ सेन्टर स्थापना’ पनि नीति तथा कार्यक्रममा समेटिएका छन्। 
 

प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्