नेकपा सचेतक शान्ता चौधरीले ल्याइन् एसईईमा बी ग्रेड
काठमाडौं, असार १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण गरेकी छिन्।
....
काठमाडौं, असार १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण गरेकी छिन्।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार शान्ताले बी ग्रेड (२.६५ जीपीए) ल्याएकी हुन्। एसईई उत्तीर्ण गरेपछि सांसद उनले अब उच्चशिक्षालाई निरन्तरता दिने बताएकी छिन्। 'एउटा खुट्किलो पार गरेकी छु अब अझै मेहनत गरेर पढाइलाई निरन्तरता दिन्छु,' उनले भनिन्।
दाङको घोराही उपमहानगरपालिका-४ लक्ष्मीपुरकी सांसद चौधरीले तुलसीपुर उपमहानगरपालिका-१२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा भर्ना भएर खुल्लातर्फबाट एसइई परीक्षा दिएकी थिइन्।
विद्यालय जाने उमेरमा अरुकाे घरमा कमलरी बस्न बाध्य उनले २०७३ सालमा दाङकाे डाँडागाउँ मावि, गोग्लीमा कक्षा ८ मा भर्ना भएर औपचारिक पढाइ सुरु गरेकी थिइन्। उनले खुल्ला विद्यालयबाट एसइई परीक्षा दिएकी हुन्। उनी ०६३ सालसम्म कमलरी थिइन् । ०६५ सालमा पहिलाे संविधानसभामा सदस्य भएकी उनी त्यसै वर्ष संसदीय समितिकाे सभापति पनि भइन् । हाल उनी नेकपा सचेतक छिन् ।
विद्यालय जाने उमेरमा आफूले हेर्ने 'मालिक' का छाेराछाेरी स्कुल जाँदा नै पढ्ने इच्छा भए पनि अवसर नपाएकी उनले ४० वर्षकाे उमेरमा एसईई गरेकी हुन् । उनले आफ्नाे इच्छा विद्यावारिधि गर्ने रहेकाे बताउँदै आएकी छिन्।
उनीसँगै परीक्षा दिएकी उनकी १७ वर्षीया छोरी वीनु चौधरीले भने बी प्लस ल्याएकी छिन्। वीनुले चाहिँ काठमाडौंको एक विद्यालयबाट एसइई दिएकी हुन्।






