सिँचाइ कार्यालय प्रमुख र इञ्जिनीयर दुई लाख रुपैयाँ घुससहित पक्राउ
भीमदत्तनगर, असार १२ : कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनी....

भीमदत्तनगर, असार १२ : कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना दुई लाख घुससहित पक्राउ परेका छन्।
बिहीबार कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो।
अख्तियार कार्यालयको भीमदत्तनगरका सूचना अधिकृत टोपबहादुर विष्टले कार्यालय प्रमुख श्रीवास्तव र इञ्जिनीयर ठगुन्नाले कार्यालयमै उपभोक्ता समितिसँग काम सम्पन्न भएको रकम भुक्तानी दिनुपर्ने बेला घुस लिएको बताए। 'तटबन्धको काम सकिएपछि उपभोक्ता समितिलाई कार्यालयबाट दिनुपर्ने भुक्तानीका क्रममा दुई लाख रुपैयाँ लिएको देखियो,'उनले भने,'पूर्व सूचनाका आधारमा अख्तियारको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।'
अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए। सूचना अधिकृत विष्टले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै थप कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए।











