बाढी र पहिरोमा परेर देशभर ६ जनाको मृत्यु, २७ वेपत्ता
काठमाडौं, असार ३ : देशभर बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने २७ जना वेपत्ता भएका छन्। गृह मन्त्रालयले विज्ञप्ति जारी गरी...
काठमाडौं, असार ३ : देशभर बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने २७ जना वेपत्ता भएका छन्।
गृह मन्त्रालयले विज्ञप्ति जारी गरी बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी र डोटी प्रभावित भएको जनाएको छ।
बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आशिंक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ।
मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा दुई जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा एक–एक गरी ६ जनाको मृत्यु भएको छ। त्यस्तै बाजुरा, गोरखा, प्यूठान, अर्घखाँचीमा एक–एक जना, जाजरकोटमा सात जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएका छन्।
त्यस्तै, बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा ६ जना र स्याङ्जामा पहिरोमा परी एक जना, डोटीमा दुई जना र जुम्लामा दुई जनासहित ११ जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जनाएको छ।
यसैगरी बाढी पहिरो प्रभावित जिल्ला सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने सम्भावना छ। बाढी, पहिरो र डुबानको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ।











