Kathmandu Press

बाढीले निर्माणाधीन पुल बगायो

नवलपरासी, असार ३ : दुई दिनदेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ। जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १...
बाढीले निर्माणाधीन पुल बगायो

नवलपरासी, असार ३ : दुई दिनदेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ। 

जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो। बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिए। 

प्रदेश सरकारको तीन करोड ५० लाखको  लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो। प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार सो पुलको आज बिहीबार ढलान गर्ने तयारीका साथ काम भइरहेको थियो। खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताए।

यसैबीच अविलरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ। बौदीकाली-४ र तनहुँको घिरिङ गाउँपालिका–४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताए। 

बर्सातका कारण बौदीकाली क्षेत्रको जमीनको केही भाग भासिएको छ भने घिरिङतर्फ पुलको सपोर्टिङ ग्याबिन बगाएको छ । पुलमा जोखिम बढेपछि यस क्षेत्र भएर हिँड्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको सुवेदीले बताए।

प्रकाशित मिति: ०६:४६ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्