पार्टी एकताका लागि ‘इगो’ त्यागौं : झलनाथ

काठमाडौं, असार २ : एमाले वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि ‘इगो’ त्याग्नुपर्नेमा जोड दिएका छन्।
उपचारका लागि आज (बुधबार) भारतको नयाँ दिल्ली प्रस्थान गर्नुअअि उनले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीलाई फुटबाट जोगाउन सबै नेता-कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान पनि गरेका छन्।
‘जनताको चाहना र अपेक्षाविपरीत हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ,’ वक्तव्यमा भनिएको छ, ‘देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ। विगतमा हामी सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं।’
‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु,’ उनले भनेका छन्।
एमाले सयौँ सहिदको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दुसम्म आइपुगेको उनको भनाइ छ।
त्यस त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको पनि उनले बताएका छन्।
पार्टीलाई फुटतर्फ नधकेली धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गरे मात्र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्ने उनको भनाइ छ। ‘त्यसैले टुटफुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु,’ उनले वक्तव्यमार्फत भनेका छन्।
उपचारका क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा आफू केही दिनका लागि देशबाहिर जान लागेको उल्लेख गर्दै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने उनले सबैमा आभार व्यक्त गरेका छन्। सफल उपचारपछि स्वदेश फर्केर सबैमाझ पुनः रहने विश्वास उनले व्यक्त गरेका छन्।
आफूलाई देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले धेरै चिन्तित बनाएको नेता खनालको भनाइ छ।
‘राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (.नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ,’ उनले भनेका छन्, ‘राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपुर्ण अवस्था हो।’
त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्नेमा उनले जोड दिएका छन्।
‘हामी सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नुपर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन्।
ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगेर उपचार गर्न खनालको सचिवालयले जनाएको छ ।
यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए।
हेर्नुहोस् विज्ञप्ति












