सिन्धुपाल्चोकमा बाढीपहिरोको वितण्डा : १३० घर पुरिए, आठजनाको शव भेटियो, ६० जना बेपत्ता
हिजो साँझ नै हेलुम्बुका करिब ३ सयजनालाई उद्धार गरेर इन्द्रवती क्याम्पस र इन्द्रश्वरी माध्यमिक विद्यालयमा राखिएको छ।
सिन्धुपाल्चोक, असार २ : अविरल वर्षसँगै मंगलबार साँझ आएको बाढीपहिरोले सिन्धुपाल्चोकका दुई स्थानमा ठूलो क्षति पु¥याएको छ।
बाढीपहिरोमा परी ज्यान गुमाउने आठजनाले शव फेला परेका छन् भने ६० जना अझै बेपत्ता रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
मेलम्ची नगरपालिकाको मेलम्ची पुरानो बजार र हेलम्बु गाउँपालिकाका आमहेलम्बु बसपार्क, तिम्बु, क्यिुल, इचोकका पक्की घर पुरिएको र कच्ची घर बगेको स्थानीयले बताए।
मेलम्ची-११ का स्थानीय बासिन्दा नवीन पाण्डेका अनुसार आज (बुधबार) अपराह्न १ बजेसम्म हेलम्बु र मेलम्चीका गरी १ सय ३० भन्दा बढी घर पुरिएका छन्।
उनका अनुसार हिजो साँझ नै हेलुम्बुका करिब ३ सयजनालाई उद्धार गरेर इन्द्रवती क्याम्पस र इन्द्रश्वरी माध्यमिक विद्यालयमा राखिएको छ। मेलम्ची नगरपालिका र स्थानीय युवाको सहभागितामा हिजो (मंगलबार) साँझ बाढीपहिरो प्रभावितको उद्धार गरिएको उनको भनाइ छ।
अहिले टेलिफोन नेटवर्क नभएका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूलाई पत्ता लगाउन मुस्किल परिरहेको उनले बताए। ‘विद्युत् आपूर्ति बन्द छ, नेटवर्कको समस्या पनि त्यस्तै छ,’ पाण्डेले भने, ‘बेपत्ताहरूलाई खोज्ने र कुनै पनि माध्यमलाई उनीहरूको अवस्थ पत्ता लगाउने कोसिस भइरहेको छ।’
उनका अनुसार मेलम्चीको पुरानो बजारमा रेडियो मेलम्चीलगायतका २० वटा पक्की घर पुरिएका छन्। १० भन्दा बढी कच्ची घर बगेका छन्। सबैभन्दा धेरै क्षति हेलम्बु गाउँपालिका–१ मा पुगेको छ।
हेलम्बुमा पनि बाढीले सयभन्दा बढी घर, नौवटा माछा फार्म बगाएका छन्।
त्यस्तै गरी आमहेलम्बु बसपार्कमा पार्किङ गरी राखिएका चार÷पाँचवटा गाडी बाढीले बगाएको छ। इन्द्रावती खोलामा आएको बाढीले उक्त बसपार्कमा रहेका आठ÷१० वटा कच्ची घर बगाएका छन्। ती घरमा ससाना होटेल सञ्चालनमा थिए।
पाँचजनाको जनाको हेलिकप्टरबाट उद्धार
नेपाली सेनाको हेलिकप्टरले मेलम्चीबाट पाँच जनालाई उद्धार गरिसकेको छ।
मेलम्चीको मनमोहन स्मृति भवनमा दुई जना, होटेल रोजको छतबाट दुई जना, होटेल रोजको नजिकैको घरबाट एक जना गरेर पाँच जनालाई नेपाली सेनाले उद्धार गरेको हो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










