Kathmandu Press

क्लिन फिडले कसलाई फाइदा, कसलाई घाटा?

काठमाडौं, असार १२ : राष्ट्रिय सभामा दर्ता भएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक’ मा राखिएको क्लिन फिडसम्बन्धी व्....

क्लिन फिडले कसलाई फाइदा, कसलाई घाटा?

काठमाडौं, असार १२ : राष्ट्रिय सभामा दर्ता भएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक’ मा राखिएको क्लिन फिडसम्बन्धी व्यवस्थाले विवाद निम्त्याएको छ। धेरैजसो यसकै पक्षमा छन भने केबुल व्यवसायी विरोधमा उत्रिएका छन्।

केबल व्यवसायीले २४ घण्टा विदेशी च्यानल बन्द गरेर सांकेतिक विरोध जनाएका छन्। उनीहरू यसको विरोधमा आन्दोलित छन्। यो विधेयक पारित भए व्यवसायनै बन्द हुने उनीहरूको तर्क छ।

यस अघि पनि क्लिन फिडका विषयमा चर्चा हुने गरेको थियो। तर, व्यवसायीहरूकै विरोधका कारण कार्यान्वयनमा आउन सकेको थिएन्।

Hardik ivf

संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले यो विधेयक पारित गराएर क्लिन फिड लागू गराउने पक्षमा उभिएका छन्।

पक्ष र विपक्षमा चर्चा भइरहेका बेला यसका फाइदा तथा वेफाइदाका बारेमा पनि चर्चा गर्नु आवश्यक छ। त्यसअघि यसका विषयमा जानौं।
 
के हो क्लिन फिड?

क्लिन फिल्ड भनेको विज्ञापनरहित टेलिभिजन च्यानलको अवधारणा हो। क्लिन फिडकोे अवधारणाअन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’बाहेकका विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन।

अहिले विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेका छन्। त्यसलाई करको दायरमा ल्याउन र स्वदेशी विज्ञापनको बजार विस्तार गर्न विधेयक मार्फत क्लिन फिडको अवधारण ल्याइएको सरकारको भनाइ छ।

विदेशी च्यानलहरूले नेपालमा प्रसारण गर्दा विदेशी विज्ञापन देखाउन पाउने छैनन्। यदि विदेशी विज्ञापन बजाउनै परेमा नेपालमै उत्पादन गरेका विज्ञापनहरु मात्र प्रशारण वा बजाउने पाइने विधेयकमा उल्लेख छ। त्यसका लागि ति विज्ञापन कम्पनीले नेपाल सरकारलाई कर पनि तिर्नुपर्नेछ। जबकी अहिलेसम्म कर तिरिरहेका छैनन्।

के छ विधेयकमा?

विज्ञापनसम्बन्धी विधेयकमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहीत क्लिन फिड प्रसारण गनुपर्ने पने उल्लेख छ। त्यस्तै, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था गरिएको छ।

व्यवसायीहरूले यसको विरोध गरेका छन्। नेपालमा प्रसारण हुने ८५ प्रतिशत टेलिभिजन विदेशी रहेको उल्लेख गर्दै केबल व्यवसायिक  संघका अध्यक्ष पराजुलीले भारतीय टिभी च्यानलहरूले नेपाललाई क्लिन फिड दिन नसक्ने बताए। ‘इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रूपमा असमर्थ हुनेछ। त्यस्तो अवस्थामा करोडौं लगानी डुब्नेछ,’ पराजुलीले भने।

यस्तो छ पक्षविपक्षको विवाद

विज्ञापनसम्बन्धी विधेयकमा भएको क्लिन फिडको पक्ष र विपक्षमा विवाद यथावत रहेको छ। केबल व्यवसायीहरूले यसको विरोध गर्दै आएका छन्।

क्लिन फिड लागू भएमा सरकारले ठूलो मूल्य चुकाउने पर्ने उनीहरूको भनाइ छ। ‘अहिले हामी केहि बोल्दैनौं। जुन दिन लागू हुन्छ, त्यो बेला कम्पनी बन्द भएर सरकारले ठूलो मूल्य चुकाउने पर्नेछ,’ केबल टेलिभिजन महासंघका अध्ययक्ष पराजुलीले भने।

अहिले १५ वटा नेपाल च्यानल छन्। तिनले मात्रै नेपाली दर्शकलाई सन्तुष्ट गर्न नसक्ने केबल व्यवसायीको भनाइ छ। ‘विदेशी च्यानल हेर्न नपाउदा जनता आफैले विरोध गर्नेछन्। सरकारपछि हट्न बाध्य हुनेछ,’ पराजुली भने। विदेशी च्यानल बन्द हुँदा कस्तो प्रभाव पर्छ भन्ने सांकेतिक रुपमा २४ घण्टा बन्द गरेर देखाएको उनको भनाइ छ।

नेपाल विज्ञापन व्यवसायी संघका अध्यक्ष राजेन्द्रकुमार रिजालले भने क्लिन फिड राष्ट्रको हितमा रहेको बताए। यो राष्ट्र र राष्ट्रियताको हितमा हुने उनको भनाइ छ।

‘हामीले उनीहरुको विज्ञापन किन सित्तैमा बजाउने? हाम्रो कलाकार, हाम्रो गौरवलाई नै प्रोत्साहन गर्नकै लागि भएपनि यो क्लिन फिड लागू हुनुपर्छ,’ अध्यक्ष रिजालले भने।

केबल व्यवसायीको विरोधले क्लिन फिडका बारेमा बुझाउन झन सजिलो भएको उनको तर्क छ। ‘केबल व्यवसायीले २४ घण्टा बन्द गरेर कुनै प्रभाव परेको छैन। बरु क्लिन फिडका बारेमा बुझाउने काम भएको छ,’ उनले भने।

क्लिन फिडले फरक पर्ने दुइटा विषय

क्लिन फिड लागू भएमा दुइटा कुरामा फरक पर्ने छ। पहिलो, नेपालका लागि क्लिन फिड दिन नसक्ने विदेशी च्यानल बन्द हुनेछन्। विशेष गरेर भारतीय च्यानलका दर्शकलाई केही असर पर्नेछ।

यसबाट केबल व्यवसायीलाई पनि घाटा हुनेछ। किनकी भारतीय एजेन्टमार्फत आउने विज्ञापनको कमिसन रोकिने छ। केही केबल कम्पनीलाई पनि घाटा हुनसक्नेछ। बन्द पनि हुन सक्नेछन्।

अर्को, क्लिन फिड लागु भएपछि नेपालको विज्ञापनको बढ्नेछ। नेपालमै बनेका विज्ञापनमात्र प्रशारण हुने भएकाले नेपालको कला, संस्कृति, रहनसहन तथा नेपाली उत्पादनको प्रबद्र्धन हुनेछ। नेपाली विज्ञापनबाट सरकारले पनि कर बाफत राजश्व संकलन गर्नेछ।

कलाकार पनि क्लिन फिडको समर्थनमा

क्लिनको फिडको पक्षमा सर्वसाधारणसँगै कलाकार पनि लागेका छन्। चर्चित हास्यकलाकार हरिवंश आर्चाय, मदन कृष्ण श्रेष्ठ, दिपकराज गिरीलगायतले यसको समर्थन गरेका छन्। यो समय सान्दर्भिक भएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, असार १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्