गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
पोखरा, असार १ : गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८र७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको...
पोखरा, असार १ : गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८र७९ का लागि सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको छ । सोमबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार छलफल गरी पारित गरिएको हो ।
सरकारले कोभिड–१९ सँगै स्वास्थ्य लक्षित कार्यक्रम ल्याएको छ । यस्तै, कृषि, पर्यटन, पूर्वाधार एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ।
नीति कार्यक्रममाथि मंगलबार बिहानदेखि छलफल भएको थियो । गण्डकी प्रदेशसभाको बैठक बिहान १० बजेदेखि सुरु भएको थियो । छलफलमा उठेका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जवाफ दिएका थिए ।
उनले नीति कार्यक्रम सरकारले कार्यान्वयनमा लैजाने गरी नै ल्याएको बताए । उनले प्रदेशका नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता रहेको बताए । पुरानै योजनालाई निरन्तरता दिँदै छुटेका कतिपय योजना बजेटमा समावेश गरिने उनको भनाइ थियो ।
मुख्यममन्त्री नेपालीको जवाफपछि सभामुख नेत्रनाथ अधिकारी नीति कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए । निर्णयार्थ प्रस्तुत गरेको नीति कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेकाले पारित भएको घोषणा गरे । प्रमुख प्रतिपक्ष दल एमालेले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति कार्यक्रम ल्याएको बताएको छ । ५९ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा सत्तापक्षका ३१ सांसद छन् ।
शनिबार नयाँ सरकार गठन भएकाले पनि नयाँ योजना ल्याउन नसकिएको सरकारले जनाएको छ।











