अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
धादिङ, असार १२ : माटोको लेदो जमेपछि हिजो रातिदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रुपमा खुलेको छ। आज बिहानैदेखि लेदो पन्छाएपछि एकतर्फी रुपमा सडक ....

धादिङ, असार १२ : माटोको लेदो जमेपछि हिजो रातिदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रुपमा खुलेको छ। आज बिहानैदेखि लेदो पन्छाएपछि एकतर्फी रुपमा सडक संचालन भएको हो।
वर्षाका कारण हिजो राति एकाएक माथिबाट लेदो आएको थियो। लेदोले धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडक ढाकेको थियो। माटोको लेदोसँगै बालुवा पनि सडकमा जमेपछि सवारीसाधन फसेका थिए।
सडकभन्दा माथिबाट बालुवा निकालिएको थियो। बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकमा आएको हो। राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा लेदो राजमार्ग आएको स्थानीय बासिन्दाले बताए।
सडक अवरुद्ध भएपछि आज बिहानैदेखि बालुवा व्यवसायी र स्थानीय बासिन्दाले लेदो पन्छाएका हुन। डोजर लगाएर लेदो फालिएको स्थानीय बासिन्दाले बताए। सडक एकतर्फी रुपमा संचालन भएसँगै राति रोकिएका गाडी चल्न थालेका छन्।











