निर्वाचन आयोग सरकारको कठपुतली भयो : प्रवक्ता श्रेष्ठ
काठमाडौं, असार १ : नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन् ।मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले निर्वाचन...
काठमाडौं, असार १ : नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको बताएका हुन् ।
उनले संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य भएको टिप्पणी गरेका छन् । उनले अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण निर्वाचन आयोग भएको जिकिर गरेका छन् ।
उनले लेखेका छन्, ‘जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’
उनले राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने बताएका छन् । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको गलत कार्यलाई समयमै रोक्नुपर्ने उनको धारणा छ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा दुवै पक्षले गरेका कारबाहीलाई ‘ कानुनसम्मत नदेखिएको’ भन्दै अमान्य घोषित गरिदिएको छ। आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने आइतबार फैसला दिएको थियो।











