के कालो मरिच स्वस्थ छ?
नूनजस्तै मरिच पनि अमेरिकामा हरेक घरको भान्छामा पाइन्छ। विश्वमा ‘सोडियम’ उपभोग र मानव स्वास्थ्यबारे धेरै पुस्तक लेखिएका छन्। तर मरिचले विज्ञहरूको ध्यान तान्....
नूनजस्तै मरिच पनि अमेरिकामा हरेक घरको भान्छामा पाइन्छ। विश्वमा ‘सोडियम’ उपभोग र मानव स्वास्थ्यबारे धेरै पुस्तक लेखिएका छन्। तर मरिचले विज्ञहरूको ध्यान तान्न सकेको छैन।
सायद मरिचको बढी निगरानी र परीक्षण हुनुपर्छ होला। केही अनुसन्धानले मरिच ‘मेरिनेड’ले ‘हेटेरोसाइक्लिन एमाइन्स वा एचसिए’ नष्ट गर्ने बताएका छन्। मासु ढडेमा वा उच्च तापमा पकाउँदा एचसिए उत्पादन हुन्छ। यसले क्यान्सर हुन्छ। क्यान्जस स्टेट युनिभर्सिटीको एउटा समूहले गरेको अध्ययनमा एक ग्राम मरिचलाई सय ग्राम गौमाससँग मिसाएर पकाउँदा एचसिए पूर्णतया नष्ट भएको पत्ता लागेको छ।
केहीलाई मरिचको यति मात्रा धेरै पिरो हुनसक्छ। अध्ययन प्रतिवेदनका लेखकले मरिचसँग ‘ओरिगानो’, ‘रोजमेरी’ र अन्य जडिबुटीको त्यतिनै मात्रा मासुमा मिसाउँदा पनि ‘कार्सिनोजेन’ घट्ने बताएका छन्।
मरिचले पाचन प्रणालीमा पनि मद्दत गर्दछ। ‘पशुमा गरिएका थुप्रै अध्ययनबाट मरिचले ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्टमा फाइदा पु¥याउने देखिएको छ,’ किथ सिङ्गलटरीले बताए। उनी युनिभर्सिटी अफ इलिनोइमा पोषणका पूर्वप्राध्यापक हुन्। अध्ययनलाई मसलाका फाइदा सम्बन्धी अध्ययन गर्ने म्याकोर्मिक साइन्स इन्स्टिच्युटले लगानी गरेको छ।
प्रमाणमा सधैं एकरूपता नभए पनि अध्ययनमा मरिचले पाचन रसको उत्पादन बढाउने संकेत देखिएको छ। यसले खाना खाएपछि अघाएको अनुभव हुन्छ र ‘ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्ट’ बाट खानाको यात्रा सजिलो बनाउने सिङ्गलटरीले बताए। ‘यसले केही पौष्टिक तत्व सोस्ने कार्य पनि बढाउनसक्छ।’
विज्ञहरूले विशेष गरी पिपरिनको क्षमता अध्ययन गरेका छन्। यो जैविक ‘कम्पाउन्ड’ले मरिचको विशिष्ट स्वाद बनाउँछ। यसले ‘करक्युमिन’ र ‘रिस्भेराट्रोल’ सोस्ने शरिरको क्षमता बढाउँछ। ‘करक्युमिन’ बेसारको जरामा पाइने रासायनिक ‘कम्पाउन्ड’ हो। यसले जलन कम गर्नुका साथै ‘एन्टिअक्सिगडेन्ट’ पनि भएको थुप्रै प्रमाण छ।
‘रिसभेराट्रोल’ एउटा ‘रेड वाइन कम्पाउन्ड’ हो जसले मष्तिष्कको गडबडी, मुटुरोग र ‘टाइप–टु’ मधुमेहको जोखिम कम गर्नसक्छ।
यी ‘कम्पाउन्ड’ले स्वास्थ्यमा फाइदा गर्न भनेर सबै स्वास्थ्यविद् विश्वस्त छैनन्। मानिसको पाचन प्रणालीबाट शरीरले यी तत्व नसोसी बाहिर निस्कने कुरामा धेरैले सहमति जनाएका छन्। यहाँ मरिचको काम आउँछ।
‘पिपरिनले रिसभेराट्रोलको बायोअभाइलेबिलिटी उल्लेखनीय मात्रामा बढाएको छ,’ निहाल अहमदले बताए। उनी युनिभर्सिटी अफ विस्कन्सिन स्कूल अफ मेडिसिन एन्ड पब्लिक हेल्थमा चर्मविज्ञानका प्राध्यापक हुन्।
पिपरिनले ‘ग्लुकोरोनाइडेसन’ भनिनै ‘मेटाबोलिक’ प्रक्रियामा आंशिक अवरोध गर्ने देखिएको छ। फलस्वरूप आमाशयले सोसेर रगतमा पुर्याउनुअघि ‘रिसभेराट्रोल’ टुक्रा–टुक्रा हुन्छ। यो प्रक्रियामा हस्तक्षेप गरेर पिपरिनले धेरैभन्दा धेरै ‘रिसभेराट्रोल’ सोस्न शरीरलाई सहयोग गर्नसक्छ। अन्य सम्बन्धित अध्ययनले पिपरिनले ‘करक्युमिन’ पनि उसैगरी सोस्ने देखाएको छ।
बेसार लगाएको तरकारीमा अलिकति मरिचको धुलोले स्वास्थ्यमा यति धेरै फाइदा पुर्याए गज्जब हुन्थ्यो। तर हालसम्मको अनुसन्धानले यसको पुष्टि गरेको छैन।
‘पाककला प्रयोजनमा मरिचको मात्राले स्वास्थ्यमा फाइदा पुर्याउँछ–मेरो विचारमा यो अझै अज्ञात छ,’ सिङ्गलटरीले भने। ‘मसला सम्बन्धी धेरै अध्ययन पशु र सेल कल्चरमा गरिएका छन्। यसलाई समर्थन गर्ने पर्याप्त मानवीय अध्ययन भएको छैन।’
उदाहरणका लागि अहमदले मुसामा अध्ययन गरेका थिए। मुसाको प्रति किलोग्राम तौलमा दश मिलिग्राम पिपरिन ख्वाइएको थियो। त्यतिकै मात्रामा पिपरिन पाउनलाई मानिसले झण्डै दुई चियाचम्चा मरिच खानुपर्छ। हामीमध्ये थोरै मात्र त्यति विधि खान तयार हुन्छौं होला, हैन।
पिपरिनको अत्यधिक सेवनले केही समस्या पनि ल्याउनसक्छ।
‘शरीरलाई नचाहिने तत्व पनि सोस्ने जोखिम हुन्छ,’ अहमदले भने। रगतमा पुर्याउनुअघि ‘करक्युमिन’ र ‘रिस्भेराट्रोल’ टुक्रायाउने त्यही पाचन प्रक्रियाले केही ‘हर्माेन’ र रसायन समेत गरी अस्वस्थकर खाद्य पदार्थलाई सोस्न नदिने उनले बताए।
पुष्टि नभए पनि कुनै औषधि खाइरहेको व्यक्तिले बढी मात्रामा पिपरिन सेवन गरे औषधिको प्रभावमा हस्तक्षेप गर्ने सम्भावना भएको अहमदले बताए। यस्ता अनियोजित परिमाणका कारण धेरै डाक्टरले औषधि पसलमा गएर सजिलै औषधि खरिद गर्नुको जोखिमबारे चेतावनी दिएका हुन्।
अहिलेसम्म भेटिएका प्रमाण अनुसार खानामा छरेर वा मिसाएर मरिच खाने हामी अधिकांशको बानीजस्तै औषधिसँग खाए कुनै जोखिम हुँदैन। यसले पाचन वा पौष्टिक तत्व सोसेर फाइदा पनि पुर्याउन सक्छ। नभए पनि ‘मेरिनेड’ मा राख्दा क्यान्सरविरूद्ध केही फाइदा हुनसक्छ।