पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनाको कारण हिमाली आँधी: प्रतिवेदन
काठमाडौं, असार ११ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटना खराब मौसम (हिमाली आँध....
काठमाडौं, असार ११ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटना खराब मौसम (हिमाली आँधी) का कारण भएको ठहर गरिएको छ।
ताप्लेजुङको पाथिभराबाट काठमाडौं फर्किने क्रममा गत फागुन १५ गते दिउँसो फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा एयर डाइनेस्टीको ‘९ एन–एएमआई–एसएस ३५० बी ३ इ’ हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको थियो।
हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंग रक्षक अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो।
दुर्घटनापछि सरकारले गठन गरेको छानविन आयोगले बुधबार बुझाएको प्रतिवेदनमा हेलिकप्टर मानवीय तथा प्राविधिक समस्याका कारण नभई खराब मौसमकै कारण दुर्घटना भएको उल्लेख छ। आयोगले हेलिकप्टर दुर्घटनाबारे तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको छ।
प्रतिवेदनमा पाथिभरा मन्दिरको दर्शनपछि मौसम केही समय बिग्रिएको र खुलेपछि उडान भरेको उल्लेख छ। तर, पाथिभराबाट उडान भरेको केही समयमै फेरि मौसममा खराबी आएकाले दुर्घटना हुन पुगेको प्रतिवेदनमा उल्लेख गरिएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ।
मौसम खराब भएपछि पाइलटले सुरक्षित ठाउँमा लैजान नपाउँदै हिमाली आँधी आएको प्रतिवेदनमा उल्लेख छ। उडान गर्न पाइलटलाई मन्त्री अधिकारी र अन्य कसैले पनि दबाब नदिएको पनि आयोगको ठहर छ।
गत फागुन २२ गते सरकारले अधिकारी सवार हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन समेत गरेको थियो।
समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बाँस्तोला, नेपाली सेनाका अवकासप्राप्त महासेनानी प्रमोद लामा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका थिए।






