काठमाडौं महानगरका आज र भोलि खोप लगाइने
काठमाडौं, जेठ ३१ : काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। यसअघि खोप अभावका कारण खोप अभियान रोकिएको थियो। फेरि आज...
काठमाडौं, जेठ ३१ : काठमाडौं महानगरपालिकाले आज र भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
यसअघि खोप अभावका कारण खोप अभियान रोकिएको थियो। फेरि आज र भोलि काठमाडौंका विभिन्न स्थानमा खोप लगाउने महानगरका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताए।
जेठ २५ गते काठमाडौं उपत्यकालगायत देशभर खोप अभियान सुरु भएको थियो। काठमाडौंमा खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेर नै स्थगित गरिएको थियो। जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप अभियान पुनः संचालनमा ल्याउन लागेको उनले बताए।
यो अवधिमा ६० र ६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइनेछ।
खोप लगाउन वीर अस्पताल, महाराजगञ्जस्थित टिचिङ अस्पताल, सिभिल अस्पताल र सैनिक अस्पतालमा खोप लगाइनेछ। पहिलो पटक भने सबै वडामा खोप लगाइएको थियो।











