Kathmandu Press

अर्थमन्त्री खतिवडाले भने–प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको छैन

काठमाडौं, असार ११ :  अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमको बचाउ गरेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता ....

अर्थमन्त्री खतिवडाले भने–प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको छैन

काठमाडौं, असार ११ :  अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमको बचाउ गरेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्ने कुरा बाहिर आइरहेका बेला अर्थमन्त्री खतिवडाले कुनै पनि अनियमितता नभएको दाबी गरेका हुन्।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक अनियमितता भएको भन्दै अर्थमन्त्री खतिवडासँग जवाफ मागेका थिए। ‘सो कार्यक्रममा कुनै अनियमितता भएको छैन, आगामी दिनमा झन् प्रभावकारी रुपमा अगाडि बढ्छ, कुनै दुविधा नराख्नुस्,’ अर्थमन्त्री खतिवडाले भने। 

कार्यक्रमको ध्येय सार्वजनिक निर्माणमा श्रम गर्न चाहने श्रमिकले काम पाऊन् भन्ने रहेको उल्लेख गर्दै उनले ७५३ वटै स्थानीय तहमा प्रभावकारी रुपमा कार्यक्रम अगाडि बढेको दाबी गरे।

विनियोजन विधेयक बहुमतले पारित 

‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई राष्ट्रिय सभा बैठकमा बहुमतले स्वीकृत गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। 

राष्ट्रिय सभाको बैठकमा ‘विनियोजन विधेयक, २०७६’ माथि सांसदले उठाएका  प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटको खर्च गर्ने क्षमता सरकारसँग रहेको बताए।
उनले बजेटले आयातलाई क्रमशः प्रतिस्थापन गर्दै निर्यात प्रर्वद्धनमा जोड दिएको र आत्मनिर्भर अर्थतन्त्रतर्फ केन्द्रित रहेको बताए। सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता सामाजिक क्षेत्रमा सरकारको लगानी वृद्धि हुँदै गएको गरेको समेत बताए।

‘मौलिक हक कार्यान्वयन गर्न आगामी बजेटले प्राथमकिता दिएको छ, बजेट वितरणमुखी नभई व्यवहारिक र कार्यान्वयनमुखी छ’, अर्थमन्त्री खतिवडाले भने। 
 

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, असार ११, २०७६