संवैधानिक अपराध भयोः जनमोर्चाकी सचेतक थापा
गण्डकी प्रदेशसभामा जनमोर्चाकी सचेतक पियारी थापाले विश्वासको मत नपाएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुनः बहुमत दाबी गरेर संवैधानिक अपराध गरेको बताएकी छन् ।
पोखरा, जेठ २९ : गण्डकी प्रदेशसभामा जनमोर्चाकी सचेतक पियारी थापाले विश्वासको मत नपाएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुनः बहुमत दाबी गरेर संवैधानिक अपराध गरेको बताएकी छन् ।
प्रदेशसभा सदस्यबाट पदमुक्त भएका र पार्टीको साधारण सदस्यसमेत नरहेका जनमोर्चाका कृष्ण थापाको समर्थनमा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नु संवैधानिक अपराध भएको उनले बताइन् ।
जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गरेको छ र ३१ सांसदको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख सीतादेवी पौडेलको निवास अघिल्तिर धर्नामा बसेका विपक्षी गठबन्धनका सांसदहरूसँगै जनमोर्चाका दुई सांसदहरू पियारी थापा र खिमबिक्रम शाही पनि सँगै छन् ।
‘हाम्रो समर्थन विपक्षी गठबन्धनलाई छ । हिजो सशरीर उपस्थित भएर हामी दुईजनाले हस्ताक्षर पनि गरिसकेका छौँ,’ सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भनिन्, ‘जसलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ, सांसद पदबाट पनि बर्खास्त गरिसकिएको छ । त्यो व्यक्तिले म आधिकारिक व्यक्ति हुँ भनेर जान सक्ने कानूनी प्रावधान यो कसले सिकाइराखेको छ ?’











