Kathmandu Press

कांग्रेस जिल्ला सभापतिहरूको एउटै आवाज : पार्टीले सरकारविरुद्ध सशक्त प्रतिरोधका कार्यक्रम ल्याउनुपर्छ

काठमाडौं, जेठ २९ : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि सरकारबाट आक्रमण भइरहेको भन्दै सशक्त प्रतिरोधका कार्यक्रमहरू ल्याउनुपर्ने माग राखेका छन्...
कांग्रेस जिल्ला सभापतिहरूको एउटै आवाज : पार्टीले सरकारविरुद्ध सशक्त प्रतिरोधका कार्यक्रम ल्याउनुपर्छ

काठमाडौं, जेठ २९ : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि सरकारबाट आक्रमण भइरहेको भन्दै सशक्त प्रतिरोधका कार्यक्रमहरू ल्याउनुपर्ने माग राखेका छन् ।

जिल्ला सभापतिहरूको भर्चुअल छलफल गरेर त्यसबाट आएको निष्कर्ष समेटेर सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए । सोही ज्ञापनपत्रमार्फत उनीहरूले निषेधाज्ञाबीच सरकारविरुद्ध गर्न सकिने विरोधका कार्यक्रमहरू पनि सुझावका रूपमा उल्लेख गरेका छन्। 

निषेधाज्ञाका कारण सरकारको कर्तुतविरुद्ध ठूला सभा गर्न नसकिएको जिल्ला सभापतिहरूको भनाइ छ। तर पनि घरघरमा कालो झन्डा टाँग्ने, ब्ल्याकआउट गर्ने, शंख, घन्ट वा थाल ठटाउनेजस्ता कार्यक्रम गरेर विरोध जनाउन सकिने उनीहरूको भनाइ छ।

उनीहरूले सभापतिसमक्ष कोभिडसम्बन्धी मापदण्ड र अनुशासन पालना गरी सांकेतिक सडक प्रदर्शन गर्ने, सामाजिक सञ्जालमार्फत व्यापक विरोधका कार्यक्रमहरू निर्धारण गर्ने अभियान सुरु गर्न आग्रह गरेका छन्। 

जिल्ला सभापतिहरूले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नेपाली राष्ट्रियता र सार्वभौमिकतालाई कमजोर तुल्याउन ‘ग्रान्ड डिजाइन’सहितको काम गरेको उल्लेख गर्दै वैचारिक आत्मबलसहित त्यसको सामना गर्न आग्रह गरेका छन्। 

सभापतिहरूले सरकार कोरोनाको नियन्त्रण, व्यवस्थापन र उपचारमा सरकार उदासीन, असंवेदनशील र भ्रष्टनायकका रूपमा प्रकट भएको उल्लेख गर्दै सबै नागरिकलाई अनिवार्य खोप, पिसिआर परीक्षण र हरेक स्थानीय तहमा औषधि उपकरणसहितको आइसोलेसन सेन्टर निर्माण साथै श्रमिक वर्गलाई राहतको व्यवस्थाका लागि कांग्रेसले सशक्त दबाब सिर्जना गर्नुपर्ने बताएका छन्। 

हरेक जिल्लामा विपत् व्यवस्थापन कोष गठन गर्न तथा कोभिड महामारी, बाढीपहिरो र अन्य विपतविरुद्ध लड्न स्वयंसेवकका रूपमा पार्टी सदस्यहरू परिचालित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

जिल्ला सभापतिहरूले भदौभित्रै महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक अनिवार्यताबारे पनि केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन्। 

प्रकाशित मिति: १५:१३ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्