Kathmandu Press

सांसद नरोत्तम बैद्यलाई आत्मआलोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं, जेठ २९ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्ने लुम्बिनी प्रदेशका सांसद नरोत्तम बैद्यलाई आत्मआलोचना गर्न कांग्रेसले निर्देशन दिएको छ। कांग्रेस प्रवक्ता...
सांसद नरोत्तम बैद्यलाई आत्मआलोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं, जेठ २९ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्ने लुम्बिनी प्रदेशका सांसद नरोत्तम बैद्यलाई आत्मआलोचना गर्न कांग्रेसले निर्देशन दिएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैद्यलाई आत्मआलोचना गर्न निर्देशन दिएको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आवेगको बोलि र ब्यवहार, भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न। शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ।’

प्रधानमन्त्री ओलीले देशलाई नै खत्तम पार्न लागेको भन्दै उनले ‘कोही नाथुराम गोड्से’ बन्नु पर्ने अभिव्यक्ति दिएका थिए। बाग्मती प्रदेश सभामा उनले दिएको यस्तो अभिव्यक्ति फिर्ता लिएर आत्मआलोचना गर्न कांग्रेसले निर्देशन दिएको हो। 

कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न।’

उनले कुनै पनि हालमा गलत अभिव्यक्तिको ढाकछोप नहुने बताएका छन्। शर्माले भनेका छन्, ‘तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।’

उनले यसलाई अराजकता भनेका छन्। शर्माले लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।’

सांसद बैद्यको अभिव्यक्तिको सबैले विरोध गरेका छन्। कांग्रेसले पनि यसमा असहमति जनाउँदै आत्मआलोचना गर्न भनेको हो। 

त्यस्तै, बाग्मती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि सांसद बैद्यलाई आत्मआलोचना गर्न निर्देशन दिएका छन्।

उनले यसबारे जानकारी दिँदै भनेका छन्, ‘आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको निति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु।’

 

प्रकाशित मिति: ०८:१६ बजे, शनिबार, जेठ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्