Kathmandu Press

अमेरिकी अर्बपतिहरूको आग्रह–हामीलाई कर लगाऊ

अमेरिकाका ‘मल्टिमिलियनेर’ र ‘बिलियनेयर’ सम्पति करबारे उत्साहित देखिनु अचम्मको विषय हो। अधिकांशले सम्पति कर बुझाउनु पर्दैन। तर, अब सम्पति कर बुझ....

अमेरिकी अर्बपतिहरूको आग्रह–हामीलाई कर लगाऊ

अमेरिकाका ‘मल्टिमिलियनेर’ र ‘बिलियनेयर’ सम्पति करबारे उत्साहित देखिनु अचम्मको विषय हो। अधिकांशले सम्पति कर बुझाउनु पर्दैन। तर, अब सम्पति कर बुझाउन केही व्यक्ति इच्छुक देखिएका छन्।

भर्खरै सार्वजनिक पत्रमा ‘सबैभन्दा धनी एक प्रतिशत अमेरिकीमध्ये पनि धनाढ्य दशमध्ये एकलाई मध्यम सम्पति कर लगाउन’ आव्हान गरिएको छ। सबैभन्दा धनी एक प्रतिशत अमेरिकीमध्ये पनि धनाढ्य भन्नाले जर्ज सोरोस जस्ता लगानीकर्ता र फेसबुकका सह-संस्थापक क्रिस ह्युज पर्दछन्। उनीहरूसँगै चलचित्र निर्माता एबिगेल डिज्ने, ब्लु हेभन इनिसिएटिभका सह–संस्थापकहरू लिसल प्रिज्कर सिमन्स र इयन सिमन्स पनि समूहमा छन्।

‘हामीलाई यो अवधारणा उचित लाग्यो,’ सिमन्सले भने,‘लिसल र म अन्य साथीहरूसँग पनि छलफल गरिरहेका छौं।’थप एघार परिवारका अठार जना सदस्यले सूचीमा नाम राखे। सबै जना अनुसन्धान र राजनीतिक संगठनमा सक्रिय छन्। केही अमेरिकामा धनी र गरिबबीच बढ्दो अन्तरमा पनि केन्द्रित छन्।

Hardik ivf

पछिल्लो तीन दशकमा अमेरिकाका एक प्रतिशत धनाढ्यको सम्पत्ति २१ ट्रिलियन अमेरिकी डलरले बढेको फेडेरल रिजर्भको विश्लेषण छ। त्यसैगरी सबैभन्दा गरिबको सम्पत्ति ९०० बिलियन अमेरिकी डलरले घटेको छ।

मध्यम सम्पति करको आह्वान गर्दै पत्र

उक्त पत्र राष्ट्रपतिका उम्मेदवारलाई सम्बोधन गरिएको छ। यसमा म्यासच्युसेट्सकी सिनेटर एलिजाबेथ वार्रेनको योजनालाई विशेष उल्लेख गरिएको छ। उनले ५० मिलियन अमेरिकी डलर बराबरको सम्पति भएकालाई कर लगाउने प्रस्ताव गरेकी छिन्। यसले ७५ हजार परिवार प्रभावित हुने र दश वर्षको अन्तरालमा २.७५ ट्रिलियन अमेरिकी डलर कर संकलन हुने उनको अनुमान छ।

डेमोक्रेट पक्ष सम्पतिको बढ्दो सघनता नियन्त्रण गर्न चाहन्छ। सन् २०१७ मा रिपब्लिकनले पारित गरेको कर विधेयकले यो बहसलाई थप बलियो बनाएको छ। विधेयकले उच्च आय भएका अमेरिकीलाई सबैभन्दा धेरै फाइदा पुर्‍याएको छ।

केही महिना यता न्यूयोर्कका रिप्रेजेन्टेटिभ अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेज र भर्माेन्टका सिनेटर बर्नी स्यान्डर्सले धनाढ्य करदाता लक्षित महत्वाकांक्षी कर योजनाको प्रस्ताव गरिरहेका छन्। त्यसैगरी, अकूत पारिवारिक सम्पतिले दिने अत्यधिक आर्थिक र राजनीतिक शक्ति लोकतान्त्रिक मुल्य प्रतिकूल छ वा छैन भनेर पनि उनीहरूले प्रश्न गरेका छन्।

प्रस्तावपछि गरिएका सर्वेक्षणमा दशमध्ये सात अमेरिकीले धनाढ्य अमेरिकीलाई उच्च कर लगाउने प्रस्तावलाई समर्थन गरेको देखिएको छ। यसले असमानता, सामाजिक जिम्मेवारी र कर सम्बन्धी संवाद अघि बढाउने अवसर दिएको ह्युजले बताए। ‘नीति तर्जुमा गर्दा थप अनुसन्धान र बढी सक्रियता होस् भन्ने हाम्रो सामूहिक चाहना हो,’ उनले भने। उनका पति तथा ‘स्ट्यान्ड अप अमेरिका’ नामक प्रगतिशील पैरवी समूहका एक संस्थापक सन एल्ड्रिजले पनि पत्रमा हस्ताक्षर गरेका छन्। यसअघि उनले कंग्रेसका लागि उम्मेदवार दिएका थिए।

सम्पति करले अमेरिकाको स्वतन्त्रता र लोकतन्त्र सदृुढ गर्ने तथा देशभक्तिपूर्ण भएको पत्रमा घोषणा गरिएको छ। यो वर्ष ०.१ प्रतिशत अमेरिकीले उनीहरूको सम्पतिको ३.२ प्रतिशत मात्रै कर बुझाउने आर्थिक अनुसन्धाताको अनुमानलाई पत्रमा उद्धृत गरिएको छ। त्यसको विपरीत कम सम्पतिमा ९९ प्रतिशतले ७.२ प्रतिशत कर बुझाउने छन्। 

‘नयाँ कर राजस्व मध्यम वा न्यून आय भएका अमेरिकीभन्दा सबैभन्दा बलियो आर्थिक हैसियतबाट उठाउनुपर्छ,’ पत्रमा भनिएको छ। सम्पति करले बाल स्याहारको अभाव, शैक्षिक कर्जा, अफिम र जलवायु परिवर्तनको संकटजस्ता समस्या सामना गर्न सहयोग गर्ने सिमन्सले बताइन्। सिमन्स प्रिज्कर परिवारकी सदस्य हुन्। प्रिज्कर परिवारले हायात होटेल चेन लगायत स्वामित्व भएको अमेरिकाको सबैभन्दा ठूलो निजी कम्पनी स्थापना गरेको छ।

परिवारका अर्का सदस्य तथा सान फ्रान्सिस्कोस्थित लिब्रा फाउन्डेसनका अध्यक्ष रिगन प्रिज्करले पनि पत्रमा सही गरेका छन्। यसअघि पनि अर्बपतिहरूले उनीहरूलाई धेरै लगाउनुपर्ने बहस गरेका थिए। सन् २०११ मा, बर्कशायर हाथवेका संस्थापक वार्रेन इ. बफेटले ‘हाम्रो कार्यालयका अन्य २० प्रतिशतले भन्दा म थोरै कर बुझाउँछु’ भनेरएउटा लेख छापेका थिए। यस्तो प्रतिक्रियापछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र अन्यले ‘बफेट रूल’ लागु गर्न जोड दिएका थिए जस अन्तर्गत करोडपतिहरूले आम्दानीको कम्तिमा ३० प्रतिशत कर बुझाउनुपर्ने प्रस्ताव गरिएको थियो।

सन् २०१४ मा सियाटलका उद्यमी निक हानवरले ‘माइ फेलो जिलियनर्स’ भनेर सम्बोधन गर्दै एउटा पत्र प्रकाशन गरे। पत्रमा भनिएको थियो– ‘तपाईं र मैले इतिहासकै शक्तिशाली र धनाढ्यको सपनाभन्दा धेरै उन्नति गरेका छौं । बाँकी देश – ९९.९९ प्रतिशत – एकदमै पछि छ। यो अर्थतन्त्रमा बढ्दो असमानता ठीक गर्न हामीले केही गरेनौं भने, हामी पनि प्रभावित हुनेछौं।’

हानवरले सोमबार प्रकाशित पत्रमा सही गरे। त्यसैगरी बर्कशायर हाथवेका उपाध्यक्ष चार्ली मङ्गरकी छोरी तथा वकिल मोली मङ्गरले पनि हस्ताक्षर गरिन्। मङ्गर र उनका पति स्टिफन इङ्लिसले नागरिक अधिकार सम्बन्धी काम गर्ने संस्था एड्भान्समेन्ट प्रोजेक्ट स्थापना गरेका छन्। इङ्लिसले पनि पत्रमा सहि गरेका छन्।

इन्नोभेटिभ इन्टरफेसेज नामक सफ्टवेयर कम्पनीका सह–संस्थापक स्टिफन एम. सिल्बस्र्टाइन, समाजसेवी तथा कला संरक्षक एग्नेस गुन्ड र उनकी छोरी तथा अबिन पिक्चर्सकी संस्थापक तथा निर्देशक क्याथरिन गुन्ड, स्ट्राइड राइट च्यारिटेबल फाउन्डेसनका अध्यक्ष आर्नाेल्ड एस. हियाट, असानाका सहसंस्थापक जस्टिन रोसेन्टाइन, एमबी एसोसिएट्सका संस्थापक रोबर्ट एस. बोडिच र उनकी पत्नि लुइस तथा सोरोसका छोरा तथा ओपन सोसाइटी फाउन्डेसनका उपाध्यक्ष एलेक्जेन्डर सोरोसले पनि पत्रमा हस्ताक्ष गरेका छन्। अन्तिम हस्ताक्षरकर्ताको परिचय खुलाइएको छैन।
 

प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, असार ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्