काठमाडौंमा भोकालाई खाना खुवाउने जोडी
काठमाडौं, जेठ २९ : कोरोना भाइरस सुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ। विशेषगरी दिनभरी काम गरेर बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई...
काठमाडौं, जेठ २९ : कोरोना भाइरस सुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ। विशेषगरी दिनभरी काम गरेर बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ।
यस्तै समस्यामा परेकाहरुलाई आफैँले घरमा खाना तयार गरेर ठाउँठाउँमा पुर्याउने काम समाजसेवी अजय (सुशील) र लक्ष्मी अधिकारीले गरिरहेका छन्। काठमाडौंंबाट सात किमीमाथि तारकेश्वरस्थित घरमा दाल, भात, तरकारी र अचार तयार गरेर उनीहरु अप्ठेरामा परेकाहरुलाई खुवाउन बालाजु, स्वयम्भू, कलंकी, टंकेश्वर, सोह्रखुट्टे, सामाखुशी र सुकेधारासम्म पुग्ने गरेका छन्।
मासिक एक सय रुपैयाँमा अध्यापन हुने समता स्कूलका प्रधानाध्यापकसमेत रहेका उनको जोडीले खाना खुवाउने कामसँगै उपचार नपाएर अप्ठेरामा परेका आफ्ना धेरै विद्यार्थी र अन्यलाई पनि उपचारमा सहयोग गरिरहेका छन्। थुप्रै विद्यार्थीलाई अघिल्लो लकडाउनदेखि नै राहत सामग्री पनि उपलब्ध गराउँदै आएको उनले बताए।
यस्तो अप्ठ्यारो समयमा आफूले घरमा बसेर विभिन्न परिकार बनाएर खानेभन्दा पनि खान नपाएर अप्ठेरामा परेकाहरुलाई सहयोग गर्न र उनीहरुको एक छाक मात्रै टार्न सके ठूलो धर्म हुने सोचेर काम गरिरहेको उनको भनाइ छ।
अजयले भने, ‘किताबमा लेखेका कुरालाई अर्थ खुलाएर व्याख्या गर्न र घोक्न त सिकाइरहेकै हो, तर दुःखमा परेका अरूलाई सहयोग गर्नुपर्छ भनेर सिकाउन पाउनु हाम्रो भाग्य हो।’
उनी भन्छन्, ‘हामीले दिएको खाना सबैले लिनुहुन्छ तर कसैले पाइसकेर पनि लिनुहुन्छ, कसैले त फलिदिनुहुन्छ, त्यसो गर्दा अर्को एउटा नपाउनेको भाग खोसिन्छ अनि साह्रै दुःख लाग्छ।’
जति सक्यो घुमेर अहिले चाहिँ आवश्यकता भएकालाई नै खान दिइरहेको उनले बताए। ‘धेरैजसोले खान पाउनेबित्तिकै खोलेर अगाडि नै खानुहुन्छ, त्यो देखेर एकदम खुशी लाग्छ,’ लक्ष्मीले भनिन्। (रासस)











