साढे १५ अर्बको बजेट ल्याएका काठमाडौंका मेयर शाक्यले जनतालाई थुपारे करको भार, कुनमा कति बढ्यो?
काठमाडौं, असार १० : काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको ....

काठमाडौं, असार १० : काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरका मेयर विद्यासुन्दर शाक्यले मंगलबार महानगर परिषद्मा बजेट पेश गरेका हुन्।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको महानगरपालिकाले ७ अर्ब ३१ करोड ५० लाख रुपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा खर्च गर्ने घोषणा गरेको छ। त्यस्तै, सामाजिक विकास कार्यक्रमलाई १ अर्ब ५२ करोड रुपैयाँ र शिक्षा क्षेत्रमा १ अर्ब ३४ करोड रुपैयाँ खर्च गर्ने समेत घोषणा गरेको छ।
महानगरले पारिश्रमिक र सुविधाका लागि १ अर्ब ४१ करोड ५ लाख बजेट विनियाजन गरेको छ। महानगरपालिकाले कार्यालय सञ्चालनका लागि ५९ करोड ४३ लाख ५० हजार बजेट विनियोजन गरेको छ। पूर्वाधार सुधार तथा अन्य विकासका लागि ७ अर्ब ४३ करोड ९६ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको छ।
इन्भेष्टमेन्ट कम्पनीदेखि वित्तीय संस्थासम्मलाई कर
महानगरपालिकाभित्र अब वित्तीय संस्थाहरुले मुख्य कार्यालय र शाखा कार्यालय स्थानपना गर्दा कर तिर्नुपर्ने भएको छ। जसमा इन्भेष्टमेन्ट कम्पनीले वार्षिक १० हजार तिर्नुपर्ने छ भने वाणिज्य बैंकको मुख्य कार्यालयले वार्षिक १ लाख रुपैयाँ तिर्नुपर्ने छ। बैंँकका शाखा कार्यालयले वार्षिक ५० हजार रुपैयाँ तिर्नुपर्ने छ। विकास बैंक, फाइनान्स तथा सहकारीहरुले पनि छुट्टा–छुट्टै शुल्क तिर्नुपर्ने छ।
महानगरले लगायो सम्पतिमा कर
महानगरपालिकाले ०.०१० प्रतिशतदेखि ०.६००० प्रतिशतसम्म सम्पत्ति कर लगाउने भएको छ। महानगरपालिकाले भवन र जग्गाको मूल्यांकनका आधारमा सम्पत्ति कर लगाउने छ। महानगरले १ करोड रुपैयाँभन्दा माथिको ०.०१० प्रतिशत कर लगाउने भएको छ।
त्यस्तै, २ करोड, ५ करोड देखि १० करोड सम्मको सिलिङ राखेर कर लिने भएको हो। महानगरले सिलिङ तोकेर १० करोड रुपैयाँभन्दा बढी सम्पति हुनेले ०.६०० प्रतिशत कर महानगरलाई बुझाउनुपर्ने भएको छ।
पार्किङका लागि शुल्क निर्धारण
काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गत विभिन्न ठाउँ अनुसार पार्किङ शुल्क तोकेको छ। महानगरले सार्वजनिक गरेको बजेटमा ठाउँ अनुसार पार्किङ शुल्क निर्धारण गरेको हो।
महानगरपालिकाले न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायत त्रिपुरेश्वर रत्नपार्क भोटाहिटी, केशरमहलसम्मको भित्री सडकमा पार्किङ गर्दा प्रतिघण्टा २ पांग्रेलाई २५ रुपैयाँ र चार पांग्रेलाई ८० रुपैयाँ शुल्क तोकेको छ।
सो बाहेकका क्षेत्रमा मोटरसाइकललाई प्रति घण्टा १५ रुपैयाँ, चार पांग्रे सवारीलाई प्रति घण्टा ४० रुपैयाँ र सोभन्दा ठूला सवारी साधनलाई प्रति घण्टा १ सय रुपैयाँ शुल्क लाग्ने भएको छ।











