Kathmandu Press

गैंडा तस्करीका फरार अभियुक्त पक्राउ

भरतपुर, जेठ २८ : चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको...
गैंडा तस्करीका फरार अभियुक्त पक्राउ

भरतपुर, जेठ २८ : चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। 

निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा नं ३ ढोडेनीका ३२ वर्षीय सोमा र मिनबहादुर गुरुङ भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरिएको हो। 

चोरीशिकार नियन्त्रण विशेष टोली, नेपाली सेना र गैंडाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गुरुङलाई पक्राउ गरेको अधिकारीले जानकारी दिए।

उनका अनुसार गुरुङलाई चार वटा चोरीशिकार घटनामा संलग्न रहेको आरोपमा तीन मुद्दा परेको छ। उनीविरुद्ध जिल्ला अदालत नवलपुरमा दुई वटा र जिल्ला अदालत चितवनमा एक वटा मुद्दा रहेका छन्। 

विसं २०७७ भदौं १६ र १८ गते भएको गैंडाको चोरी शिकारीमा हतियार उपलब्ध गराउने र आफैँ सुटसमेत गर्ने उनै भएको निकुञ्जको दावी छ। गैंडा चोरी शिकारका लागि ६ पटकसम्म निकुञ्ज प्रवेश गरेको र कम्तीमा चार वटा गैंडा मारेको निकुञ्जले जनाएको छ।

उनी फरार रहँदै आएका थिए। उनको साथबाट बन्दुकमा प्रयोग हुने बारुद १२ पोका, बन्दुकको बेयरिङ १५ थान, भरुवा बन्दुकमा प्रयोग हुने रडसमेत बरामद गरिएको छ। 

योसँगै चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले २६ जना तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ। तीमध्ये २२ जना हालसालैका घटनाका र चार जना फरार प्रतिवादी हुन्।

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, जेठ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्