Kathmandu Press

जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन : उर्जामन्त्री श्रेष्ठ

उनले बाढीमा नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारीसहित विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको बताए।
जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं, असाेज ७ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने प्रतिबद्धता जनाए। 

उनका अनुसार सम्पर्कविहीन आफन्तको प्रतीक्षामा रहेका परिवारको पीडा गहिरो रहेको भन्दै सरकारले घाइतेको उपचार, विस्थापितको पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत्, सडक र पुललगायत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ।

उनले बाढीमा नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारीसहित विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको बताए।

उपल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेकामा ९५५ जनाको सकुशल उद्धार भएको वा उनीहरू आफैं सम्पर्कमा आएको मन्त्रीले बताए। यो आयोजनाबाट ४३९ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए। बाढी आएको १२औँ दिनमा एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको तथा हालसम्म ३९ वटा शव फेला परेको उनले बताए।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’बाट ३९ जना सम्पर्कविहीन रहेको र खोज तथा उद्धारका क्रममा बाढीको १०औँ दिनमा कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए। 

यसैगरी देवीघाट जलविद्युत केन्द्र, त्रिशूली–३ ‘बी’ हब, रसुवा वितरण केन्द्र तथा चिलिमे–त्रिशूली प्रसारण लाइनमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले संसदलाई जानकारी दिए । उनले बाढीका कारण जलविद्युत आयोजनाका भूमिगत संरचनामा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

मन्त्री श्रेष्ठले विपत्तिबाट भएको क्षतिबीच सरकार निराश नभएको भन्दै प्रभावित नागरिकको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी भएको बताए । 

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, असोज ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्